एमसीसी स्वीकारे नेपालमा अमेरिकी सेना आउँछ भन्ने हल्ला वाहियात : डा. महत


२०७८ फाल्गुण ७ शनिबार ०६:५८ बजे

काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेकाले संसदबाट पारित गर्नुपर्ने बताएका छन् । महतले फागनु १६ गतेभित्रै एमसीसी पारित गर्न सबै दलले भूमिका खेल्नुपर्ने समेत बताएका छन् ।

उनले भने, ‘एमसीसीमा हस्ताक्षर गर्दा माओवादी केन्द्र पनि सरकारमा थियो नि, पहिला हस्ताक्षर गर्ने माओवादी पनि हो । उहाँहरु पनि संलग्न हुनुहुन्थ्यो । त्यसैले सबै दलको सहमतिमा यो पारित नै होस् भन्ने मेरो इच्छा हो । एमाले पनि एमसीसीको पक्षमा नै छ ।’

एमसीसी दुई देशबीच भएकोले सम्झौता सोहीअनुसार यो सम्झौता कार्यान्वयन हुने पनि उनले विश्वास दिलाए । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले भने, ‘यो संसद्ले पनि अनुमोदन गर्ने भनिएको छ, सम्झौता हुँदा यो सन् २०१९ भित्रै संसद्ले अनुमोदन गर्छौं भनेर नेपालले भनेको थियो । यो सम्झौता देशको हितको लागि हो । अमेरिकाले जबरजस्ती दिएको होइन, नेपालले मागेको हो ।’

कांग्रेस नेता महतले अहिलेसम्म ३८ मुलुकसँग अमेरिकाले कम्प्याक्ट सम्झौता गरेको जानकारी गराए । ‘नेपालमा जस्तै एमसीसी सम्झौता धेरै देशसँग भइसकेका छन् । संसद्ले पारित गर्ने सिलसिलामा नेपालमा केही विरोध हुन थाल्यो । नेकपाको सरकारले सदनबाट पारित गर्न खोजेको थियो । तर, त्यतिबेला एक पक्षले विरोध गरेको थियो । अहिलेसम्म पारित भएको छैन ।’

एमसीसीबारे अहिले भएका र गरिएका आलोचनाहरु सबै असत्य रहेको उनको टिप्पणी छ । ‘अमेरिकी सेना आउँछ, यो सैनिक सम्झौता हुन्छ, आईपिएस अन्तर्गत हो भनेर आलोचना भएको छ । यो गलत र वाहियात कुरा हो । अमेरिकाका सेना आउँछ भनेर आपत्ति जनाइएको छ, यो कुरा पनि सत्य होइन । एमसीसी आईपीएस अन्तर्गत होइन । सन् २००४ मा एमसीसी पारित भएको हो । आईपिएस भनेको २०१८ मा आएको हो । एमसीसी र आईपिएस बिल्कुलै अलग हो । जो रकम उनीहरुले प्रदान गर्ने हो, त्यो विल्कुलै अहिले तोकिएको आयोजनामा खर्च गरिनुपर्छ ।’

उनले अहिले आएर एमसीसी सम्झौता संशोधन गर्न नसकिने पनि सुनाए । उनले कांग्रेसले एमालेसँग गठबन्धन गर्नेबारे कुनै निणर्य नगरेको पनि सुनाए । उनले भने, ‘एमाले एमसीसीको पक्षमा छ । देशको हितको सवालमा एक अर्का देशसँग सम्बन्ध बिगारेर जानु हुँदैन । एमसीसी निजी स्वार्थको लागि होइन, कांग्रेसले राष्ट्रिय हितको लागि पास गर्नुपर्छ भनेको हो । एमसीसीबारे भएका आलोचना गलत छन् ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७