परपुरुषसँग मिलेर श्रीमानको हत्या, नदीमा फालेर खोजी गरिदिन प्रहरीमा निवेदन


७ फाल्गुन २०७८, शनिबार
hatya dang2022 02 19 05 56 03

दाङ । दाङकी एक महिलाले परपुरुषसँग मिलेर श्रीमानको हत्या गरेकी छिन् । दाङ राप्ती गाउँपालिका-३ वसन्तपुर निवासी करिब ५० वर्षीया उमादेवी चौधरीले आफ्ना श्रीमान ५४ वर्षीय लप्टेन चौधरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उनले मसुरियानिवासी ५२ वर्षीय हनुमान चौधरीको सहयोगमा आफ्ना श्रीमानको हत्या गरेको प्रहरीले बताएको छ ।

उनकी श्रीमती उमादेवीले श्रीमान् गोबरडिहा काममा जान्छु भनी फागुन १ गते बिहान साढे ६ बजे हिंडेको र अझैसम्म पनि नआएको भनेर खोजीका लागि प्रहरी समक्ष निवेदन समेत दिएकी थिइन् । फागुन ५ गते उनले निवेदन दिएपछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो ।
सोही क्रममा चौधरीको शव गढवा गाउँपालिका-२ स्थित राप्ती नदीको किनारमा फेला परेको थियो । उनको शव भेटिएपछि हत्या भएको हुन सक्ने भन्दै अनुसन्धान थालेको थियो । शंकास्पद देखिएपछि श्रीमतीलाई नै पक्राउ गरेपछि घटनाको रहस्य खुलेको हो । उमादेवीले हनुमानको सहयोगमा श्रीमानको हत्या गरेको स्वीकार गरिसकेकी छिन् ।

श्रीमान् र श्रीमतीको सम्बन्ध लामो समयदेखि बिग्रिएको स्थानीयले जानकारी दिएका छन् । उमादेवीले श्रीमानले आफूलाई कुटपिट गर्ने गरेको बयान दिएकी छिन् । साथै श्रीमानले आफूलाई हनुमानसँग प्रेम सम्बन्ध रहेको भन्दै समाजमा बेइज्जत गरेको समेत बयान दिएकी छिन् ।

माघ २९ गते आफूलाई हातपात गरेको र श्रीमानले ज्यान मार्ने धम्की दिएको भनी उमादेवीले हनुमानलाई फोन गरेकी थिइन् । हनुमानलाई फोन गरेर श्रीमान् नसामा लठ्ठ भएपछि उमादेवी १२ वर्षीया छोरीलाई लिएर अर्को कोठामा सुत्न गएकी थिइन् ।

सोही दिन राति १० बजेतिर हनुमान चौधरी घरको दक्षिणपट्टीको खुला रहेको ढोकाबाट घरभित्र पसी लप्टेनलाई छातीमा मुड्कीले हानी मृतक छटपटाउन लागेपछि भुइँमा लडाई घाँटी च्यापी हत्या गरेको भनी बयान दिएको प्रहरीले बताएको छ । हत्यापछि उनीहरूले आफैले पिठ्युँमा बोकी नदीमा लगेर फालेका थिए । उनीहरूले एक जोर जुत्ता समेत साथमा लगेर फालेको समेत बयान दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७