१५० प्रकारका औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना ११ थरीमा सीमित


२०७८ फाल्गुण ८ आइतबार ०७:३४ बजे

काठमाडौं । ललितपुरकी जानकी शाक्य बुधबार बिहान सिंहदरबार वैद्यखानाअगाडि बिक्री काउन्टर खुल्ने समय पर्खेर बसेकी थिइन् । वैद्यखानाका कर्मचारी आएपछि उनले औषधिको पर्चा देखाइन्, तर कविराज आदित्य ठाकुरले औषधि सकिएको भन्दै अन्तबाट किन्न भनेर फर्काइदिए । मिर्गौलाको पत्थरीका कारण उनले लामो समयदेखि वैद्यखानाको आयुर्वेदिक औषधि सेवन गर्दै आएकी थिइन् ।

चालू आव सुरु भएयता सितोपलादी चूर्ण, पञ्चसकार चूर्ण, आमलकी चूर्ण, हिङवास्टक चूणर्, शुद्ध शिलाजित, कामदुग्धा रस, मोती पिष्टी, प्रवाल पिष्टी, अर्शकुठार रस, मिमिया र च्यावनप्रास गरी जम्मा ११ किसिमका औषधि मात्र उत्पादन भएका छन् । अहिले च्यावनप्रासबाहेक कुनै औषधि उपलब्ध छैन ।

केही महिनायता सिंहदरबार वैद्यखाना पुग्ने करिब ७० प्रतिशतभन्दा बढी ग्राहक निराश भएर फर्किन बाध्य छन् । एक सय ५० भन्दा धेरै थरी औषधि उत्पादन गर्ने वैद्यखाना अहिले ११ औषधिमा सीमित भएको छ । भरपर्दो र गुणस्तरीय आयुर्वेदिक औषधि पाइने बिक्री काउन्टरमा च्यावनप्रास र अन्य केही चूर्ण बाहेक औषधि उपलब्ध छैनन् ।

‘औषधि उत्पादन नै छैन । दैनिक २५-३० जना ग्राहक आइपुग्छन्, तर खोजेको औषधि नहुँदा २० जनाजति खाली हात फर्किनुपरेको छ । नियमित औषधि खाइरहेका बिरामीलाई समेत अन्यन्त्र पठाउनुपर्ने अवस्था छ,’ दुई दशकदेखि वैद्यखानामा औषधि बेच्दै आएका कविराज ठाकुरले भने, ‘विगतमा दैनिक एक लाखभन्दा बढीको औषधि बिक्री हुन्थ्यो, अहिले २० हजारको कारोबार हुन पनि मुस्किल छ ।’

देशकै सरकारी स्वामित्वको एक मात्र आयुर्वेदिक औषधि उत्पादक ‘सिंहदरबार वैद्यखाना’मा औषधि अभाव छ । औषधिको उच्च माग रहेको कोभिड महामारीकै समयमा व्यवस्थापकीय कमजोरीले उत्पादन कम भएको छ । आर्थिक वर्ष ०७४/७५ मा पाँच करोड ३४ लाखको औषधि बिक्री-वितरण गरेको वैद्यखानाले आ.व ०७५/७६ मा दुई करोड ४८ लाख र आर्थिक वर्ष ०७६/७७ मा दुई करोड १७ लाख रुपैयाँबराबरको औषधि बिक्री गरेको छ । यस्तै, गत आर्थिक वर्षमा दुई करोड ६८ लाख रुपैयाँबराबरको औषधि बिक्री भएको डा. साह बताउँछन् । वैद्यखानाले चालू आर्थिक वर्षमा हालसम्म १२ हजार ६ सय ६९ केजी औषधि बिक्री गरेको छ, जसमध्ये पनि ११ हजार पाँच सय ८१ केजी च्यावनप्रास मात्रै उत्पादन भएको छ ।

वैद्यखाना विकास समितिका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मीका अनुसार बजारमा च्यावनप्रास, शिलाजित, अविपत्तिकर चूर्ण, लिभकेयर सिरप, एब्डोजाइम सिरपलगायतका औषधिको बढी माग हुने भए पनि उत्पादन नहुँदा वैद्यखाना खाली बन्दै गएको छ । ‘चालू आव सुरु भएयता सितोपलादी चूर्ण, पञ्चसकार चूर्ण, आमलकी चूर्ण, हिङवास्टक चूर्ण, शुद्ध शिलाजित, कामदुग्धा रस, मोती पिष्टी, प्रवाल पिष्टी, अर्शकुठार रस, मिमिया र च्यावनप्रास गरी जम्मा ११ किसिमका औषधि मात्र उत्पादन भएका छन् । अहिले च्यावनप्रासबाहेक कुनै औषधि उपलब्ध छैन,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७