सत्ता गठबन्धनको वैठक बस्दै, आज संसदमा एमसीसी टेबल हुने


२०७८ फाल्गुण ८ आइतबार ११:३० बजे

काठमाडौं । अमेरिकी अनुदान सहायता एमसीसीलाई संसदबाट अनुमोदन गर्न प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक आज (आइतबार) पनि बस्दै छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् ।

तर संसद् चालु गरेपछि तथा दलहरुबीच सहमति भएपछि मात्र यसलाई टेबल गर्नुपर्ने अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छन् । अर्को घटक जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने संसद्बाट तत्काल एमसीसी अनुमोदन गर्नुपर्ने बताउँदै आएका छन् । तर जसपाका अध्यक्ष उपेन्द्र यादवले भने एमसीसीबारे खुलेर धारणा राखेका छैनन् ।

बिहीबार साँझ प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य गरी एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन आग्रह समेत गरेका थिए । सहमतिअनुसार यही फागुन १६ गतेसम्ममा एमसीसीको समयसीमा रहेको छ । गठबन्धनबीच बिहान १० बजे छलफल हुने बताइएको छ । आजको बैठकमा नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्षनेताहरू सहभागी हुनेछन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७