एमसीसीबारे प्रचण्डले गठबन्धन बैठकमा राखे तीन शर्त


२०७८ फाल्गुण ८ आइतबार ११:०२ बजे

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको आइतवार बालुवाटारमा बसेको बैठकले अमेरिकी सहायता परियोजना (एमसीसी) संसदमा टेबुल गर्ने सहमति गरेको छ । यसअघि एमसीसीको विरोधमा रहेका नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र पनि सहमति भएपछि आइतवारकै संसद बैठकमा एमसीसी टेबुल गरिने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

तर बालुवाटारको यो बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन बुँदे शर्त राखेको उनको सचिवालयले जनाएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार पाँच दलका शीर्ष नेताको बैठकमा प्रचण्डले कुनै पनि विधेयक संसदमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वभाविक प्रक्रिया भए पनि सदनमा अवरोध जारी रहेको अवस्थामा सभामुखलाई दबाब दिन उचित नहुने बताएका थिए ।

’अध्यक्ष कमरेड प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्रै टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो’, मल्लले भने ।

प्रचण्डले एमसीसी टेबुल गरिछाड्ने हो भने प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन भनेका थिए । ’अध्यक्ष कमरेडले प्रधानमन्त्रीलाई टेबुल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नुभयो’, मल्लले भने, ‘तर प्रधानमन्त्री ज्यु भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहनु भएको छ ।’

प्रचण्डले यदि एमसीसी संसदमा लैजाने हो भने आ-आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी गर्नुपर्ने भनेका थिए । माओवादीले एमसीसीसम्बन्धी प्रस्ताव टेबुल गर्न दिने भए पनि विपक्षमा मत हाल्ने रणनीति बनाइसकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७