एमसीसीको पक्षमा बहुमत जुटाउने यस्तो छ देउवाको रणनीति


९ फाल्गुन २०७८, सोमबार
deuwa

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे आन्तरिक छलफललाई तीब्रता दिएका छन् ।

आइतबार संसदमा टेबल भएको एमसीसीको पक्षमा बहुमत जुटाउने गृहकार्यका लागि पार्टीका नेताहरूसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाले सोमबार दिउँसो २ बजे एमसीसी अगाडि बढाउने भूमिका देखिएका नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएको जनाइएको छ ।

महामन्त्री गगन थापा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री दिलेन्द्र बडू, संसदीय दलकी सचेतक पुष्पा भुसाल लगायतलाई छलफलका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । १२ गते बस्ने प्रतिनिधिसभा बैठकअघि एमसीसीको पक्षमा बहुमत जुटाउने गृहकार्यका लागि देउवा आज आन्तरिक छलफल गर्न लागेको एक नेताले जानकारी दिए । सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एमसीसीको पक्षमा मतदान गर्ने ठाउँमा उभ्याउने प्रधानमन्त्री देउवाको प्रयास छ ।

माओवादी र एकीकृत समाजवादी एमसीसी पासका लागि मतदान नगर्ने अवस्थामा प्रमुख प्रतिपक्षी एमालेलाई फकाउने प्रयास पनि देउवाले जारी राख्ने काँग्रेस नेताहरू बताउँछन् । आजको छलफलमा एमसीसीको पक्षमा बहुमत जुटाउन गठबन्धनभित्र र बाहिरको गृहकार्यका लागि केही नेताहरूलाई जिम्मेवारी दिने देउवाको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७