गठबन्धन जोगाउँदै एमसीसी पारित गर्ने उपायको खोजीमा रामचन्द्र पौडेल, बढाए दौडधुप


९ फाल्गुन २०७८, सोमबार
Ramchandra Poudel

काठमाडौं । सत्तारुढ गठबन्धन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पनि पारित गर्ने र गठबन्धन पनि जोगाउने उपायको खोजी थालेका छन् ।

मुलुकका लागि एमसीसीसँगै गठबन्धनको पनि अपरिहार्यता रहेको भन्दै पौडेलले सत्तारुढ गठबन्धनका नेताहरूसँग छुट्टाछुट्टै छलफल अघि बढाएका छन् । पौडेलले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट्दै छन् । तीनै जना नेताहरू एमसीसीको विपक्षमा रहँदै आएका छन् । ती नेताहरूसँगको भेटमार्फत आफूले राजनीतिलाई नयाँ समस्यातिर धकेलिन नदिने प्रयास गर्ने वरिष्ठ नेता पौडेलले बताए ।

‘गठबन्धनको संयोजकको हिसाबले मुलुकलाई थप समस्यामा जान नदिन गठबन्धनलाई पनि मजबुत राख्ने र संसदमा पेश भएको एमसीसी पारित गराउन सहमति पनि जुटाउने मेरो ध्येय हो । यसै विषयमा नेताहरुसँग छलफल गर्दैछु’, पौडेलले भने ।

संसदमा एमसीसी टेबल भइसकेको र समयसीमा थोरै रहेकोले जतिसक्दो चाडा गठबन्धनभित्र साझा धारणा बनाउनुपर्ने पौडेलको भनाई छ । एमसीसीलाई राजनीतिक प्रतिष्ठाको विषय नबनाउने हो भने समस्या आफैं समाधान हुने उनले बताए ।

‘एमसीसी विशुद्ध विकास अनुदान हो भनेर स्वीकारेर जानुपर्छ । हाम्रो मुलुकमाथि कुनै संकट पर्न दिँदैनौ भन्ने राष्ट्रिय आत्मविश्वास गठबन्धनका दलहरुले व्यक्त गर्नु नै समस्याको समाधान हो’, पौडेलको भनाइ छ । उनले एमसीसीको विषय संसदमा टेबल भएपछि सार्वभौम संसदको निणर्य नै सबैले मान्नुपर्ने पनि बताए । एमसीसीकै कारण गठबन्धनमा दरार आउन दिन नहुने भन्दै पौडेलले सहमति खोज्न आफू सक्रिय रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७