लालु यादवलाई थप ५ वर्ष जेल र ६० लाख जरिवाना


९ फाल्गुन २०७८, सोमबार
thumb 11

विहार । बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई थप ५ वर्ष जेल सजाय सुनाइएको छ । झारखण्डस्थित सीबीआईको विशेष अदालतले दाना घोटाला प्रकरणमा लालुलाई ५ वर्ष जेल र ६० लाख जरिवाना पनि सुनाएको छ ।

झारखण्डसँग सम्बन्धित दाना र पशुपालन घोटालाको यो पाचौं प्रकरण थियो । फेब्रुअरी १५ मै अदालतले लालुलाई दोषी ठहराएको थियो । सन् २०१३ मा लालुलाई भ्रष्टाचार आरोपमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको थियो ।
त्यस्तै सन् २०१७ मा उनलाई अर्को प्रकरणमा दोषी ठहर गर्दै अदालतले साढे ३ वर्ष जेल सजाय सुनाएको थियो । त्यस्तै सन् २०१८ को जनवरीमा उनलाई अर्को घटनामा ५ वर्ष जेल सजाय तोकिएको थियो । त्यस्तै दुम्का घोटालामा १४ वर्ष जेल र ६० लाख जरिवाना सुनाइएको थियो ।

पछिल्लो समय स्वास्थ्य अवस्थाका कारण उनलाई जमानतमा छाडिएको छ । सन् २०१७ मा सजाय सुनाइएपछि लालुले ८ महिना जेल र ३१ महिना अस्पतालमा बिताएका छन् । उनी लामो समय राँचीस्थित राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्स (रिम्स) र दिल्लीस्थित एम्समा उपचारका लागि भन्दै बसे ।

सन् १९९० को दशकमा बिहार र झारखण्ड एउटै राज्य भएका बेला भएको चर्चित दाना घोटालामा अहिलेसम्म सीबीआईले ६६ वटा मुद्दा दर्ता गरेको छ । यीमध्ये ६ मामिलामा बिहारका तत्कालीन मुख्यमन्त्री लालुलाई पनि अभियुक्त बनाइएको थियो । बिहारबाट छुट्टिएर झारखण्ड अलग राज्य गठन भएपछि भने यो प्रकरण उतै सारिएको थियो । लालुको शासनकालमा भ्रष्टाचार निकै बढेको थियो ।

दाना घोटालाकै समयमा बिहारमा महालेखा परीक्षकको टिप्पणी निकै चर्चित रहेको छ । ‘स्कुटर, प्रहरी भ्यान, तेल ट्यांकर र अटोमा भैंसी ओसारपसार गरिएको थियो,’ बिहार सरकारको अनियमितताबारे महालेखापरीक्षकको टिप्पणी थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७