बागमती प्रदेशमा ९६ प्रतिशतले कोरोना संक्रमणविरुद्ध खोप लगाए


९ फाल्गुन २०७८, सोमबार

हेटौंडा । बागमती प्रदेशमा कोरोना सङ्क्रमण विरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् । प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना सङ्क्रमण विरुद्धको खोप लगाइसकेको र यो क्रम जारी रहेको मन्त्रालयबाट जानकारी पाइएको छ ।

हेटौंडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ । खोप अभियान तीव्र रुपमा सञ्चालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको संख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताए ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारी रोगले मानवीय क्षतिमात्र नभई अर्थतन्त्रमा समेत क्षति पुर्‍याएको बताउँदै मन्त्री लामाले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताए । मन्त्री लामाले मकवानपुरको दुर्गम तथा पिछडिएका क्षेत्रमा समेत आफै पुगेर कोरोना सङ्क्रमण विरुद्धको खोप अभियानअन्तर्गत शिविर सञ्चालन गरेका थिए । यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा ९० प्रतिशत नागरिकले कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएको छ ।

साथै कोरोनाविरुद्धको खोप लगाउने र स्वाब सङ्कलन कार्य जिल्लामा जारी रहेको बताइएको छ । जिल्लामा कोरोना सङ्क्रमण हुनेको संख्या हालसम्म १७ हजार ९११ जना रहेको र हालसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्य हुनेको संख्या १७१ जना रहेको सो कार्यालयले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमितको संख्या दिनप्रति घट्दै गएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७