रामचन्द्रलाई प्रचण्डको बचन : गठबन्धन बच्छ, एमसीसी प्रक्रियाबाट टुङ्गिन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन बचाउँदै एमसीसी पास गर्न आग्रह गरेका छन् ।


एमसीसी संसदमा टेबुल भइसकेको र सत्ता गठबन्धनभित्र मतभेद भइरहेका वेला पौडेलले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा पौडेलले एमसीसी पास गर्न गठबन्धन दल एक ठाउँमा आउनु पर्ने बताएका थिए ।
पौडेललाई प्रचण्डले गठबन्धन बच्ने जवाफ दिएका थिए । उनले गठबन्धन बच्ने एमसीसी प्रक्रियाबाट टुंगिने बताएका थिए । ‘उहाँले गठबन्धन बचाउनु पर्यो । एमसीसीको पनि काम हुनुपर्यो भन्नु भयो’, भेटपछि प्रचण्डले भने, ‘गठबन्धन बच्छ । एमसीसी प्रकियाबाट टुंगिन्छ भन्ने जवाफ दिएँ ।’
एमसीसी परियोजनाका कारण सत्ता गठबन्धनमा नै खटपट देखिन थालेपछि पौडेलले गठबन्धनका शीर्ष नेतासँग भेटवार्ता अघि बढाएका हुन् । उनले आज नै जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसिसीको पक्षमा नभएको बताएका छन् भने यादवले अझै आधिकारिक धारणा राखिसकेका छैनन् ।