प्राधिकरणले बिजुलीका पोल नसार्दा नारायणगढ-बुटवल सडक विस्तारमा समस्या


१० फाल्गुन २०७८, मंगलवार
butwal city

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ-बुटवल सडक खण्ड विस्तारका लागि सडक किनारमा रहेका विद्युतका खम्बा (पोल) नहटाइँदा काममा ढिलाइ भएको छ ।

यस वर्ष गैंडाकोटको भेंडाबारी (गैंडाकोटबाट ११ किमी पश्चिम) बाट देवचुलीको प्रगतिनगरसम्म १० किमी सडक कालोपत्र गर्ने योजना भए पनि विद्युतको खम्बाले समस्या परेको जनाइएको छ । ‘बस्ती क्षेत्रमा ६ लेनको सडक बनाउने ठाउँमा विस्तार भएको सडक कालोपत्र गर्ने योजना रहेको छ’, नारायणगढ बुटवल सडक आयोजना (पूर्वी खण्ड) का प्रमुख रमेशकुमार दिष्टीले भने, ‘त्यो ठाउँमा विद्युतको खम्बा सार्ने काममा ढिलाइ भइरहेका कारण काम समेत प्रभावित भएको छ ।’ सडक किनारमा बस्ती क्षेत्र हुँदै ३३ केभी, ११ केभी र विद्युतको वितरण लाइन समेत गएको हुँदा खम्बा सार्नै समस्या भएको आयोजना प्रमुख दिष्टीले बताए ।

‘सडक विस्तारसँगै कालोपत्र गर्ने भनिएको ठाउँमा दुई लाइन खम्बा गाड्नै समस्या छ’, दिष्टीले भने, ‘दुई वटा खम्बाका बीचमा कम्तीमा पनि चार मिटर ग्याप चाहिन्छ, त्यसैले त्यो ठाउँमा समस्या छ ।’ नयाँ खम्बा गाड्न र पुराना खम्बा हटाउन समस्या भइरहेको दिष्टीले बताए ।

‘हामीले नेपाल विद्युत् प्राधिकरणसँग समस्याको समाधान मागिरहेका छौं, त्यो ठाउँमा भएका पुराना खम्बा नहटाइँदा कालोपत्र गर्नै समस्या भएको छ’, उनले भने, ‘खम्बा सार्ने काम त हामीले नै गर्ने हो तर विद्युत् प्राधिकरणले लागत अनुमान दिएअनुसार काम गर्नुपर्छ, उहाँहरूले पहिले दिनुभएको लागत अनुमानअनुसार काम गर्न अप्ठ्यारो भयो ।’

३३ केभीको प्रसारण लाइन एउटा खम्बामा र ११ केभीको प्रसारण लाइन अर्कोमा राख्ने गरी लागत अनुमान गरिएको भए पनि दुई खम्बा गाड्न समस्या भएको सडक विस्तार आयोजनाले जनाएको छ । ‘यस क्षेत्रमा दुई वटा लागत अनुमान गाड्ने गरी लागत अनुमान भएको थियो, तर अहिले एउटा खम्बा मात्रै गाड्न सम्भव भएको छ’, दिष्टीले भने, ‘लागत अनुमानअनुसार काम गर्न ठाउँ भएन, हामी खम्बा गाड्न तयार छौं तर उहाँहरूले काममा सहजीकरण गरिदिनुपर्‍यो ।’

एउटै खम्बामा सबै तार कसरी लैजान कसरी मिल्छ, त्यो विषयमा विद्युत् प्राधिकरणले भनिदिएको खण्डमा काम चाँडो हुने दिष्टीले बताए । विद्युत् प्राधिकरणले दिएको लागत अनुमानअनुसार काम गर्न नसकिएपछि प्राधिकरणसँग दुई-तीन चरणको छलफल भइसकेको भए पनि प्राधिकरण बाटो फुकाउनतिर नलागेको दिष्टीले गुनासो गरे ।

एक महिनामा २ दशमलव ५ प्रतिशत प्रगति
आयोजना प्रमुख दिष्टीकाअनुसार सडक विस्तारको काममा पछिल्लो एक महिनामा २ दशमलव ५ प्रतिशत प्रगति देखिएको छ । जनवरीसम्म झण्डै १० प्रतिशत काम भएको पूर्वी खण्डमा अहिले १२ प्रतिशतभन्दा बढी काम भएको छ । यो सडक खण्डको गैंडाकोटदेखि दाउन्नेसम्म नै सडक विस्तारको काम भइरहेको छ ।

‘अहिले सडक विस्तारको काममा दैनिक झन्डै सात सय जनाको हाराहारीमा मजदुर प्रयोग भइरहेका हामीले जानकारी पाएका छौँ’, आयोजना प्रमुख दिष्टीले भने, ‘अहिले धेरै जनशक्ति पुल निर्माणमा जुटेको छ ।’ पूर्वी खण्डमा ६ वटा ठूला पुल निर्माणको काम भइरहेको उल्लेख गर्दै उनले पुल निर्माणका लागि फाउण्डेशनको काम भइरहेको छ । त्यस्तै यस खण्डमा निर्माण हुने २२ साना पुलमध्ये १५ पुलमा निर्माणको काम भइरहेको छ ।

‘पूर्वी खण्डमा निर्माण हुने २२ साना पुलमध्ये दुई वटाको निर्माण सम्पन्न भइसकेको छ, आठ वटामा सुपरस्टकचर (पुलको माथिल्लो भाग ढलान) को काम सम्पन्न भएर माटो भर्ने काम हुँदैछ’, उनले भने, ‘बर्खा अगाडि १५ वटै पुल निर्माणको काम सक्न निर्देशन दिएका छौं ।’ अन्य नयाँ पुल निर्माणको काम सुरु नगरि निर्माण सुरु गरिएको पुलको काम सम्पन्न गर्न निर्देशन दिइएको दिष्टीले बताए । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक विस्तारको काम भइरहेको हो ।

यस्तो हुनेछ बुटवल-नारायणगढ सडक
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ १ सय १३ किलोमिटर लामो सडक निर्माणका लागि एसियाली विकास बैंक एडीबी) ले सहुलियतपूर्ण ऋण दिएको छ । १६ अर्ब ९९ करोड रुपैयाँ लागतको सडकको लागि एडीबीले ८५ प्रतिशत रकम ऋण दिएको छ । ऋण नेपालले ३२ वर्षमा तिर्नुपर्नेछ, ऋणको ब्याज जम्मा १ दशमलव ५ प्रतिशत मात्रै रहेको छ ।

बुटवल-नारायणगढ सडकलाई दुई भागमा बाँडेर काम हुँदैछ । पूर्वी खण्डअन्तर्गत गैँडाकोट दाउन्ने भागको साढे ६४ किलोमिटर सडकको लागि ९ अर्ब १३ करोड १८ लाख र पश्चिमी खण्ड दाउन्ने वुटबल साढे ४८ किलोमिटर सडकको लागि ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सनले ठेक्का पाएको छ । ठेक्का सम्झौता भएको मिति २०७५ सालको पुसदेखि साढे ३ वर्षभित्र आयोजनाको काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । सडक निर्माण सम्पन्न भएको साढे ५ वर्षसम्म पनि ठेकेदार कम्पनीले नै सडकको मर्मत सम्भारको काम गर्नुपर्ने सम्झौता भएको छ ।

सडकको मापदण्ड ४ लेनको भए पनि ठाउँ हेरेर ६ लेन र ३ लेनको पनि हुनेछ । शहरी क्षेत्रमा सर्भिस ट्रयाकसहित ६ लेनको सडक हुनेछ । जंगली क्षेत्रमा ४ लेनको हुनेछ तर दाउन्नेको उकालोको झण्डै ४ किलोमिटर क्षेत्रमा भने भौगोलिक अवस्थाको कारण ३ लेनको मात्रै सडक हुनेछ ।

सबैजसो सडकको बीचमा डिभाइडर हुने भएकाले यो सडकमा गुड्ने गाडीले कमै मात्रै अवरोधको सामना गर्नुपर्नेछ । सडकको बीचमा रुख रोप्न र बगैंचा बनाउन हरियाली क्षेत्र बनाइनेछ । जहाँ विभिन्न कम्पनीलाई जिम्मा दिएर बाह्रैमास रुख बिरुवा र बगैंचाको हेरचाह गरिने आयोजनाले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७