रुस-युक्रेन तनाव : एसियाली शेयर बजारमा गिरावट, कच्चा तेलको मूल्यवृद्धि


१० फाल्गुन २०७८, मंगलवार
russia ukraine tensions plunges stock markets1645513131

काठमाडौं । रुस र युक्रेनबीचको बढ्दो तनावले विश्व अर्थतन्त्रमा आएको सुधारलाई पुनः बाधा पुर्‍याउने खतरा बढाएको छ । सोही कारण मंगलबार एसियाली शेयर बजारमा गिरावट आएको छ ।

जापानको टोकियो स्टक एक्सचेन्ज मंगलबार बिहानै २ प्रतिशतले घट्यो भने दक्षिण कोरियाको शेयर बजारमा पनि समग्रमा १.४ प्रतिशतले गिरावट आएको छ । दुई देशबीच बढ्दो तनावबीच पूर्वी युरोपमा भने तेलको भाउ बढ्ने र व्यवसायीहरूले पहिलेदेखि नै सामना गर्दै आएको ‘सप्लाइ चेन’ अवरोधको अवस्था झन् खराब बन्न पुग्नेबारे चिन्ता जनाइएको छ ।

यसअघि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई स्टेटलाई स्वतन्त्र घोषणा गरिदिएका थिए । उनको यस कदमले ती क्षेत्रमा शान्ति वार्ताको सबै प्रयास अन्त्य गरिदिएको बताइएको छ । यसरी कोभिड-१९ महामारीबाट आक्रान्त विश्व अर्थतन्त्रमा बल्ल केही सुधार देखिरहेका बेला अर्को संकट पनि नजिक आइपुग्नाले लगानीकर्ताहरूमा डर उत्पन्न गराएको हो ।

एसियाबाहेक युरोपमा जर्मनीको ‘डेक्स इन्डेक्स’ र फ्रान्सको ‘क्याक फोर्टी’ मा गिरावट देखा परिसकेको छ । त्यस्तै, ‘एस एन्ड पी ५००’ का लागि ‘ई-मिनि फ्युचर्स’को सेयर मूल्यमा १.५ प्रतिशत गिरावट आएको छ । उता, न्युयोर्कस्थित अमेरिकी स्टक एक्सचेन्ज, ‘नशदाक १०० ई-मिनि फ्युचर्स’ मा पनि २.२ प्रतिशतले मूल्यमा गिरावट आएको छ ।

भूराजनीतिक तनाव चुलिएकै कारण बजारमा खतराको भाव पैदा भएपछि यस्ता गिरावट देखा परिरहेको सीएमसी मार्केट्सकी विश्लेषक टिना टेङले बताइन् । यसरी लगानीकर्ताहरूको मानसिकतामै युद्धको जोखिम बसिसकेको हुनाले पनि बजारमा उतारचढाव अपरिहार्य रहेको सिंगापुरका अर्का अर्थविद् सङ सेङ वनले बताए ।

उनी भन्छन्, ‘युक्रेन संकट खराब बन्दै जाँदा बजार पनि राताम्मे बन्न पुग्नेछ ।’ यसैगरी, वस्तुको माग र आपूर्तिको सन्तुलन अवरुद्ध हुनाले सिपिङ मूल्य पनि सोचेभन्दा धेरै ठूलो स्तरमा वृद्धि हुने उनले बताए ।

मंगलबार तेलको भाउ प्रतिब्यारल ९५ डलरभन्दा बढी पुगेको छ । एसियन ट्रेडिङमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेन्चमार्क ९५.३९ डलर पुगेको छ । सन् २०२१ मा कच्चा तेलको मूल्य औसतमा प्रतिब्यारल ६२.२६ डलर थियो । हाल यसको औसत भाउ ७५ डलरभन्दा माथि छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७