सर्लाहीमा स्यालले टोक्दा एकै गाउँपालिकाका १२ जना घाइते


१० फाल्गुन २०७८, मंगलवार
syal 6W97F0iQKu

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकाका विभिन्न स्थानमा स्यालको टोकाइबाट १२ जना घाइते भएका छन् । आज (मंगलबार) बिहान जंगलबाट बस्तीमा पसेको स्यालले स्थानीयलाई टोकेको हो ।

स्यालको टोकाइबाट घाइते भएका सबै जनाको प्रादेशिक अस्पाताल मलङ्गवामा समान्य उपचार गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ९ जनालाई काठमाडौंको टेकु अस्पतालमा पठाइएको छ भने तीन जनाको मलङ्गवा अस्पतालमै उपचार भइरहेको छ । स्यालको टोकाइबाट गहिरो घाउ लागेका घाइतेहरूलाई काठमाडौं पठाइएको प्रादेशिक अस्पताल मलङ्गवाका डा. गौतम झाले जानकारी दिए ।

स्यालले टोक्दा लगाइने ‘इम्युनोग्लोमिन भ्याक्सिन’ कामाडौंमा मात्र पाइने भएकाले घाइतेलाई काठमाडौँ पठाउनुपरेको उनले बताए । भारतीय सीमावर्ती सो विष्णु गाउँपालिकामा आज बिहान अचानक स्याल गाउँ पसेर जथाभावी टोक्न थालेपछि स्थानीय आतङ्कित भएका छन् ।

स्यालको टोकाइबाट विष्णु -४ मधुवन गोठका ६५ वर्षीय बिलट चौधरी, ७२ वर्षीय शङ्कर चौधरी, ५४ वर्षीय भाग्यनारायण राय, २५ वर्षीय प्रमेश चौधरी, २८ वर्षीया रञ्जना कुमारी साह उनका ५ वर्षीय छोरा अनमोल साह घाइते भएका छन् ।

त्यस्तै विष्णु -२ बारा उद्योरणका ३५ वर्षीय रामबाबु राय, ५८ वर्षीय रामानन्दप्रसाद यादव, ५० वर्षीय झरिलाल ठाकुर, ६० वर्षीय महेन्द्र बैठा, ६ वर्षीय सुभाष बैठा र ७० वर्षीय सम्झादेवी झालगायत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कतिपय घाइतेहरु अझै अस्पतालमा आइनपुगेको प्रहरीको भनाइ छ । स्यालले पशु चौपायालाई समेत टोकेर घाइते भएको स्थानीयले जनाएका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७