सिङ्गापुरको जङ्गलमा ३० वर्षदेखि किन एक्लै बसिरहेका छन् यी वृद्ध ?


१० फाल्गुन २०७८, मंगलवार

काठमाडौं । सिंगापुरको नाम सुन्दै आलिशान गगनचुम्बी भवन हाम्रो मनमा आउँछ । तर यी गगनचुम्बी भवनका बीच एक व्यक्ति यस्ता पनि छन्, जो शहरको सुुविधा छोडेर घना जंगललाई आफ्नो घर बनाइरहेका छन् । ओ गो सेंगलाई भेट्दा पहिलो चिज तपाईंलाई मनपर्ने भनेको उनको आँखाको चमक हो । सेंग ७९ वर्षका भए पनि आफूभन्दा आधा उमेरका मानिसलाई उनी टक्कर दिन सक्छन् ।

यस महिनाको शुुरुवातमा ओ गो सेंग जंगलमा बस्दै आएको खबर सिंगापुरमा भाइरल भएको थियो । धेरैले यो खबरमा हैरानी व्यक्त गरेका थिए । केही मानिसले उनलाई किन कसैले सहयोग गरेन भनेर प्रश्न सोधे कतिले सेंगमा पछिल्लो ३० वर्षदेखि किन कसैको ध्यान गएन भनेर चिन्ता व्यक्त गरिरहेका छन् ।
क्रिसमसपछि भाइरल भयो सेंगको कहानी
यो सबैको शुुरुवात क्रिसमसमा भयो । त्यतिबेला सेंगलाई केही अधिकारीहरुले रोकेका थिए । उक्त समयमा सेंगले बिना लाइसेन्स सामान बेचिरहेको पाइएको थियो । महामारीका कारण बजारमा फूल बेच्ने काम बन्द भएकाले सेंग आफैँले उब्जाएको तरकारी र खुर्सानी बिक्री गरिरहेका थिए ।

सेंगका अनुसार एक ग्राहकले करिब एक सिंगापुुर डलरको सामानको बिक्रीलाई लिएर भएको बहसपछि उजुरी गरेको हुन सक्ने अनुमान गरेका छन् । सेंग र प्रहरी अधिकारीबीच बहस भइरहँदा एक परोपकारी कामदार त्यहिँबाट यात्रा गरिरहेकी थिइन् । प्रहरी अधिकारीले सेंगको तरकारी जफत गरिरहेको उनले देखेकी थिइन् ।

भिभियन पेन भन्छिन्, ‘मलाई सेंगको तर्फबाट रिस उठिरहेको थियो । सेंग त्यस दिन खाली हात घर फर्किउन् भन्ने म चाहन्नँ थिए । तर मलाई थाहा छ कि उनी कानुनी रुपमा सडकमा केही बिक्री गर्न पाउँदैनन् ।’ भिभियनले यो पुरा घटनाहरुको भिडियो बनाइन् र यसलाई फेसबुकमा पोष्ट गरिन् । जहाँबाट यो तुरुन्तै भाइरल भयो । यसपछि सेंगको समस्याको बारेमा स्थानीय सांसदलाई जानकारी गराइयो । तर सांसद लियांग एंग वालाई थाहा भयो कि सेंगको कहानी यो भन्दा धेरै नै बढी छ ।
जंगलमा जीवन
सेंग, सनगेई तेंगाहा नामको गाउँमा आफ्नो परिवारका साथ हुर्के बढेका हुन् । यद्यपि सन् १९८० को दशकमा अग्लो भवनका लागि यो गाउँ फडानी गरियो । अधिकांश गाउँ बासिन्दालाई सरकारले नयाँ घर दियो । तर सेंग घर पाउन असफल रहे ।

यद्यपि सेंगका भाइले सरकारी फ्ल्याट पाउन सफल भएका थिए । उनलाई त्यहाँ बस्ने निम्तो पनि आयो । तर सेंगले यस्तो गरेनन् । किनकी उनी परिवारको बोझ बन्न चाहँदैनथे । यसैले सेंग पुनः आफ्नो पुुरानो घर नजिकैको जंगलमा फर्किए । यहाँ उनले दाउरा, बाँस र त्रिपालबाट बनेको एउटा अस्थायी घरमा रात बिताउन शुुरु गरे ।

यो अस्थायी घरतर्फ जाँदै गर्दा उनको ढोका नजिकै खरानी देख्नुहुन्छ । जुन सेंगले खाना बनाएपछि जम्मा हुने गर्दथ्यो । बीचमा सेंगका केही सामान राखिएका छन् र पछिल्लो हिस्सामा सेंग सुत्छन् । सेंगको पाल नजिकै एउटा बगैँचा पनि छ । जहाँ उनी तरकारी फलाउँछन् । रुख र बारबीच कपडा बाँधिएका छन्, जसले तरकारीलाई सुुरक्षा दिन्छ ।

उनको पालको माथि विशाल कटहरको रुखले पर्याप्त छायाँ दिन्छ । जसले उनलाई सिंगापुरको प्रचण्ड गर्मी र आर्द्रताबीच राहत दिन्छ । सेंग भन्छन्, ‘एक्लोपन उनका लागि कहिले पनि कुनै समस्या भएन । उनी आफ्नो बगैंचाको रेखदेखमा व्यस्त रहन्छन् । उनलाई जंगलको यो भूमिले यो एक्लोपनलाई सहज बनाएको बताए । तर सेंगलाई मुसाले भने दुःख दिने गरेको छ । कतिबेला आएर मुसाले आफ्नो कपडा काटिदिन्छ, उनलाई पत्तै हुँदैन । सेंगले अवसर पाएको समयमा जागिर पनि खाए ।
सिंगापुरमा बेघर ?
कहिलेकाही सेंग आफूले जम्मा गरेको पैसाले डुुंगा चढेर इन्डोनेसियाको सानो द्विप बाटम जाने गर्थे । यही उनको भेटघाट म्याडम तसिचसँग भयो । दुबैको एक छोरी पनि छिन् । प्रत्येक साता बाटम गए बावजुद सेंग सधै सिंगापुरमा आफ्नो जंगलको पालमा फिर्ता हुनेगरी आउछन् । सेंगको परिवारलाई झैँ उनकी पत्नी र १७ वर्षे छोरीलाई उनी कुन अवस्थामा बसिरहेका छन् भन्ने अलिकति पनि थाहा छैन ।

उनको एक नातेदारले भने, ‘जब कसैले सेंगलाई ‘कहाँ बस्नु हुन्छ’ भनेर सोध्थे, उनले जवाफ दिन्थे, ‘बगैँचामा ।’ कोरोना महामारीका कारण सेंगको बाटमको यात्रा बन्द भएको छ । किनकी सिंगापुरले व्यापक रुपमा आफ्नो सीमा बन्द गर्‍यो र जसले कोरोना परीक्षण र क्वारेन्टिनमा बस्न पैसा तिर्न सक्दथे, उनीहरुलाई मात्र यात्राको अनुमति थियो ।

यद्यपि सेंगले अझैपनि आफ्नो परिवारलाई आर्थिक सहयोग पठाउन जारी राखेका छन् । उनी प्रत्येक महिना आफ्नो परिवारलाई ५००-६०० सिंगापुर डलर पठाउँछन् । सिंगापुरमा बेघर हुनु असाध्यै दुर्लभ हो । विश्वका धेरै धनाढ्य बस्ने देशमध्ये सिंगापुर पनि एक हो । विश्व बैंकको ताजा आँकडा अनुसार शहरको कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) प्रतिव्यक्ति लगभग ६० हजार डलर छ ।

यस वर्ष पहिलो पटक हेरे टिभी

स्थानीय सांसदको टिमको सहायताबाट यसै वर्ष फेब्रुअरीमा सेंगले नयाँ घर पाएका छन् । सांसदका अनुसार उनको टिमले पछि पनि सेंगलाई सहयोग गर्न जारी राख्नेछ । उनले भने, ‘सेंगलाई इन्डोनेसियामा रहेकी उनकी पत्नी र छोरीसँग भेट्न पनि पनि सहयोग गरिने छ ।’

सेंगले पाएको घर एक बेडरुमवाला फ्ल्याट हो । जसमा उनका साथै एक अन्य व्यक्ति पनि बस्छन् । तर घरमा त्यति धेरै सामान भने छैन । यो फ्ल्याटमा एउटा फ्रिज, टेलिभिजन, कित्ली र वाटर हिटर जस्ता केही समान छन्, जसलाई मानिसले दानमा दिएका हुन् ।

उनले पाएका यी सामानमध्ये सेंगलाई सबैभन्दा बढी वाटर हिटर मन पर्छ । उनलाई जंगलमा आफ्नो पाल नजिकै रहेको पोखरीको पानीमा बानी परेको थियो र धाराको पानी उनलाई धेरै चिसो लाग्छ । सेंगले अब ड्राइभरको पेशा अपनाइसकेका छन् । उनको काम विदेशी कामदारहरुलाई एक स्थानबाट अर्को स्थानमा पुुर्‍याउनुु हो । यी सबकाबीच उनी कहिलेकाहिँ बोट-बिरुवामा पनि ध्यान दिने गर्छन् ।

तीन दशक भन्दा पनि बढी समयपछि पहिलो पटक सेंगले सिंगापुरमा आफ्नो परिवारसँग लुनार नयाँ वर्ष मनाएका छन् । उनी हाँस्दै भन्छन्, ‘मैले धेरै खाना खाएँ । धेरै चिज यस्ता थिए, जसको स्वाद वर्षौदेखि चाखेको समेत थिइनँ । ती सबै धेरै राम्रा थिए । मैले ३० वर्षपछि पहिलो पटक टिभी हेरेँ । मलाई बहुत आनन्द आयो ।’

हाल सेंग फ्ल्याटमा बस्छन्, तर उनलाई अझै पनि जंगलमा प्राप्त हुने स्वतन्त्रताको सम्झना आउँछ । उनी हाकिन (चीनको एक भाषा) मा भन्छन्, ‘म त्यहाँ वर्षौंसम्म बसेँ । यसैले मलाई जङ्गलको याद आउनु स्वाभाविक हो । अझै पनि म प्रत्येक दिन जंगलमा जान्छु । प्रत्येक दिन बिहान ३ बजे उठ्छु, तयार हुन्छु र फेरि आफ्नो तरकारी हेर्छु । यी सबै म आफ्नो दैनिकको काम शुरु गर्नु अघि नै गर्छु ।’ बीबीसी

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७