नेपालमा सात महिनामा भित्रियो ३,६४३ किलो सुन र एक लाख ३४ हजार २९५ किलो चाँदी


१० फाल्गुन २०७८, मंगलवार
gold
सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा ३,६४३ किलो सुन र एक लाख ३४ हजार २९५ किलो चाँदी भित्रिएको छ । नेपालमा चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा विभिन्न देशबाट २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँको सुन भित्रिएको भन्सार विभागले जनाएको हो ।

भन्सार विभागका अनुसारमा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट् (युएई) दुई देशबाट मात्र सुन आउने गरेको छ । २०७८ साउनदेखि माघ मसान्तसम्म नेपालमा युएईबाट १९ अर्ब ६४ करोड ७७ लाख २१ हजार रुपैयाँको सुन भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । सो मूल्यमा दुई हजार ८३१.५ किलो सुन युएईबाट नेपाल आएको छ ।

चालु आर्थिक वर्षको शुरुवाती सात महिनामा टर्कीबाट नेपालमा ५ अर्ब ५६ करोड ९१ लाख ९ हजार रुपैयाँको सुन भित्रिएको छ । सो मूल्यमा नेपालले ८११.५ किलो सुन खरिद गरेको हो । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नेपालले विभिन्न देशबाट १२ अर्ब ६९ करोड ४२ लाख ५४ हजार रुपैयाँको चाँदी खरिद गरेको छ । सो मूल्यमा एक लाख ३४ हजार २९५ किलो चाँदी नेपाल भित्रिएको छ ।

नेपालमा चाँदी चीन, हङकङ, भारत, इन्डोनेसिया, सिंगापुर, स्वीट्जरल्याण्ड, टर्की र युएईबाट आउने गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा नेपालमा १४ अर्ब ९५ करोड २७ लाख २६ हजार रुपैयाँको सुन भित्रिएको थियो । सो मूल्यमा दुई हजार एक सय किलो सुन नेपाल भित्रिएको थियो । आर्थिक वर्ष २०७७/७८ मा नेपालले २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँमा ३ हजार ९२४.५ किलो सुन विभिन्न देशबाट खरिद गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७