प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको बालुवाटार वार्ता सकियो


१० फाल्गुन २०७८, मंगलवार
KP and Deuba

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार गएका थिए ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार भेटका क्रममा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओली सँग सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेका थिए ।

उत्तरमा अध्यक्ष ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पारेका छन् ।

करिब दुई घण्टा लामो वार्तापछि एमाले नेताहरु बालुवाटारबाट बाहिरिएका छन् । अध्यक्ष ओलीसँगै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव बिष्णु रिमाल वार्तामा सहभागी थिए ।

कांग्रेस सपभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि भेटवार्तामा सहभागी थिए । संसदमा पेश भएको अमेरिकी सहायता परियोजना एमसीसी बिषयमा नेताहरुबीच भेटर्वार्ता भएको हो ।

सत्तारूढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसिसी पास गर्न सहमति नदिने भएपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग संवाद बढाएका छन्।

एक साता अघि प्रधानमन्त्री देउवा पत्नी आरजु राणासहित बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेका थिए । देउवा गत फागुन ५ गतेमात्र ओली भेट्न बालकोट पुगेका थिए ।

प्रधानमन्त्री देउवा एमसीसी अनुमोदन गर्नुपर्ने अमेरिकी दवावमा छन् । तर सत्ता गठबन्धनमा रहेका दलहरुले एमसीसी अनुमोदनमा साथ नदिने घोषणा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७