पति-पत्नीसहित लागूऔषध खाने र बेच्ने नौ जना पक्राउ


११ फाल्गुन २०७८, बुधबार
pakrau
फाइल फोटो

मोरङ । प्रहरीले मोरङबाट लागूऔषधसहित नौं जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पति-पत्नी समेत छन् ।
सुन्दरहरैंचा नगरपालिका- १९ विराटचोकमा रहेको नेती फर्मा र डे-ड्रिम मेडिसिन सेन्टरका सञ्चालक श्रीमान-श्रीमतीसहित नौ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा मेडिकल सञ्चालक सुन्दरहरैंचा नगरपालिका- १० का ४५ वर्षीय सुशील काफ्ले र उनकी श्रीमती ३२ वर्षीया गोमा कार्की छन् ।

उनीहरुसँग सुन्दरहरैंचा- १ का २३ वर्षीय सनम खवास, सुन्दरहरैंचा- १० का ३० वर्षीय अरुण राई, ३५ वर्षीय सनम तामाङ, सुन्दरहरैंचा- ९ का २४ वर्षीय सुवास राई, २२ वर्षीय जुसन सुनाम, ३१ वर्षीय निमेस परियार र ३४ वर्षीय अनुप खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु लागूऔषध प्रयोगकर्ता भएका प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा प्रदेश प्रहरीको विशेष अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । दुबै पसलबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधिहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पति-पत्नीले चिकित्सकको अनुमति बिना बिक्री गर्न नमिल्ने न्युरिन, एक्टिकोफ, प्रेज, एपावालिन र स्पास्पसेनलगायतका विभिन्न प्रतिबन्धित औषधि अवैध रूपमा महँगो मूल्यमा बिक्री गर्ने गरेका पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७