विवाहेत्तर सम्बन्धले निम्त्याएको अपराध : विदेशबाट फर्किना साथ कान्छी श्रीमतिबाटै मारिए दिनेश


११ फाल्गुन २०७८, बुधबार
murder case

मोरङ । विवाहेत्तर सम्बन्धन लुकाउन आफ्नै श्रीमानको हत्या गर्ने महिला र उनका प्रेमीलाई सुनसरी प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै हत्या गरिएका झापा घरका दिनेश सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगरका-४ इक्राहीका २९ वर्षीय सरोज भण्डारीलाई सार्वजनिक गरेको हो ।

योजनावद्धरुपमा अनिता र प्रेमी सरोजले दिनेशको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सिग्देलले करिब १० वर्षअघि अनितासँग दोस्रो विवाह गरेका थिए । अनिताको माइती घर सुनसरीको वराहक्षेत्र १० प्रकाशपुर हो । दिनेश र उनको ७ वर्षीया छोरी छन् । उनका प्रेमी सरोज सिटी सफारी चालक हुन् र विवाहित पनि हुन् । तर, उनको पनि श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र सम्बन्ध विच्छेदको क्रममा रहेको प्रहरीले जनाएको छ ।
यसरी भयो घटना

दिनेश सिग्देल १० महिना अघि कमाउनका लागि बहराइन गएका थिए । घरको आर्थिकस्तर सुधार्न गएका दिनेशले बहराइनमा हुँदै आफ्नी श्रीमती परपुरुषसँग लागेको थाहा पाएका थिए । फोन गर्दा पनि अनिता दिनेशसँग बोल्न रुची देखाउन छाडेकी थिइन् । बोले पनि झर्केर बोल्ने गर्थिन् । अनिताको सम्बन्ध सरोजसँग बढेको चाल पाएपछि दिनेश पनि थाहै नदिइ नेपाल आएका थिए ।

उनी कम्पनीमा १५ दिनको बिदा लिएर जनवरी ४ अर्थात् गत पुस २० गते नेपाल आएका थिए । भोलिपल्ट २१ गते विराटनगरमा कान्छी श्रीमती अनितासँगै नोबेल मेडिकल कलेज नजिक होटलमा बसेका थिए । भोलिपल्ट २२ गते बेलुकी उनीहरूको डेरा रहेको विराटनगर ३, पिपल चोक आएका थिए ।

प्रहरीका अनुसार पुस २२ गते राति दिनेश र अनिताबीच विवाद भएको थियो । केही समयपछि अनिताका प्रेमी सरोज पनि आएर उनैले ल्याएको गलबन्दीले घाँटीमा कसेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्या गरेपछि अनिता र सरोज अन्यन्त्र गएर बसेका र २३ गते बिहानै पसलबाट चार हजारमा ग्रेण्डर, ३ वटा जेब्रा झोला र पोलिथिन खरिद गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी संञ्जयसिंह थापाका अनुसार खरिद गरेर ल्याएका सामानसहित खुकुरीको सहयोगले शव काटेर अलगअलग झोलामा हालेका थिए ।

साँझमा ट्याम्पो भाडामा लिएर धरान भेंडेटार सडक खण्डमा फालेको र उनीहरू त्यस रात भेंडेटार बसेर भोलिपल्ट मात्र विराटनगर फर्किएको पनि एसपी थापाले बताए । एसपी थापाका अनुसार अनिता र सरोजको सम्बन्धमा वाधक बनेर अचानक दिनेश बहराइनबाट आएपछि योजनाबद्धरुपमा हत्या भएको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार ६ महिनादेखि सरोज र अनिता श्रीमान् श्रीमती सरह बस्दै आएका थिए । दिनेशले विदेशबाट पठाएको रकम खर्च भएको नदेखाउने तथा प्रेमीलाई दिने गरेको समेत खुलेको प्रहरीले जानकारी दिएको छ ।

यसरी खुल्यो हत्या
गत फागुन ४ गते धरानको जगंलमा स्थानीयले लास जस्तो गनाएको थाहा पाए । उनीहरूले हल्ला गरेपछि प्रहरीले खोजीलाई तीव्र पार्‍यो । इलाका प्रहरी धरान, जिल्ला प्रहरी र संघीय इकाई प्रहरी धरानले मृतक दिनेशको तस्बिर नै सार्वजनिक गर्‍यो । त्यति हुँदा पनि कुनै कतैबाट मेरो मान्छे भनेर नआएपछि स्केज समेत सार्वजनिक गरेको थियो ।

प्रहरीले खोजी गर्दै जाँदा मृतकको हाफ पाइन्टको गोजीमा असेट प्रोटेक्सन, ट्याटवएर पेट्रोलियम बि एच मास्क फेला पर्‍यो । त्यस्तै रिओ टुर्स कमल तलेब एक्स्लुसिभ रिओ टुर्स लेखिएको भिजिटिङ कार्ड समेत फेला पर्‍यो । प्रहरीले उक्त कम्पनी सम्म पुग्नका लागि काठमाडौँ प्रहरीलाई समेत सहयोग माग्यो । तिनै दुई कम्पनीको नाम बहराइनमा भएको पत्ता लाग्यो ।

प्रहरीले नेपाल आउने र जानेको तथ्यांक खोजी गर्दै झापा घर भएका दिनेश सिग्देल भएको पत्ता लगाएको थियो । सोही आधारमा प्रहरीले आफन्त खोजी गर्दै आफ्नै श्रीमती र परपुरुष हत्यारा भएको पत्ता लगाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७