महोत्तरी कारागारका अधिकांश कैदीलाई चर्मरोग


११ फाल्गुन २०७८, बुधबार
jel 1
सांकेतिक तस्वीर

महोत्तरी । महोत्तरी कारागारका अधिकांश कैदी-थुनुवा चर्मरोगबाट पीडित छन् । कैदी-थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग (छालासम्बन्धी रोग) को समस्या देखिएको हो ।

महोत्तरीमा कारागारको क्षमताभन्दा बढी कैदी-थुनुवा हुँदा कोचाकोच भएर बस्नुपरेको छ । सानो ठाउँमा कोच्चिएर बस्नुपर्ने र कैदी-थुनुवा कक्षमा फोहर बढेपछि चर्मरोगको समस्या बढेको कैदीहरु बताउँछन् । ‘राम्ररी कोल्टे फेर्न पनि ठाउँ छैन, कोचाकोच भएर बस्नुपरेको छ’, जिउभरि खटिरा देखाउँदै एक थुनुवाले भने, ‘कारागारमा मान्छे थपिएको थपियै छन्, नियमित सरसफाइ छैन ।’

एक सय ३५ कैदी-थुनुवा राख्न मिल्ने क्षमताको कारागारमा अहिले १९४ कैदी र ३७६ थुनुवा छन् । पुरुष र महिलाको छुट्टाछुट्टै कक्ष छ । पुरुष कक्षमा १७९ कैदी र ३४६ थुनुवा छन् । महिला कक्षमा १५ कैदी र ३२ थुनुवा रहेका जेलर अशोककुमार क्षेत्रीले जानकारी दिए ।

महिला कक्षमा आमाका साथमा रहेका पाँच वर्षमुनिका ६ बालक र तीन बालिका छन् । दिनहुँ बढ्ने कैदी-थुनुवाको चापले सबैको ठिक समयमा स्वास्थ्य जाँच, नियमित उपचार र आवश्यक स्याहार गर्न नसकिएको क्षेत्री बताउँछन् ।

‘हामी कैदीबन्दीको स्वास्थ्य समस्याप्रति संवेदनशील नभएको होइन’, उनले भने, ‘कारागारमा पर्याप्त जनशक्ति छैन। यससँगै नियमित सरसफाइको पाटो पनि चर्मरोग बढ्नुको मुख्य कारण हो ।’ भित्रको सरसफाइमा कैदी-थुनुवाले पनि ध्यान दिन नसकेको उनले बताए । कारागारमा श्वासप्रश्वास, मधुमेह, रक्तचाप र पेटसम्बन्धी समस्याका बिरामी पनि छन् । छाला चिलाउने समस्या अधिकांश कैदी-थुनुवामा देखिएको छ ।

छालासम्बन्धी उपचार शिविर सञ्चालन गर्न कैदी-थुनुवाले माग गरेका छन् । न्यायिक निकायबाट मुद्दा छिनोफानो समयमै नहुँदा महोत्तरी कारागारमा कैदी-थुनुवाको सङ्ख्या बढ्दै गएको छ । विसं १९१३ मा निर्माण गरिएको कारागार भवन जीणर् बनेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७