हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मत सम्भारको अभावमा अलपत्र


११ फाल्गुन २०७८, बुधबार
hawabata bijuli 1200x560 1

पर्वत । पर्वतको एक विकट गाउँमा विद्युत्को माग पूरा गर्नका लागि करोडौंको लागतमा बनाइएको वायु ऊर्जा १५ वर्षदेखि अलपत्र बनेको छ । महाशिला गाउँपालिका-६ फलामखानीमा सञ्चालित हावाबाट बिजुली निकाल्ने प्रविधि (वायु ऊर्जा) मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो ।

विसं २०६० मा स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समय-समयमा मर्मतसम्भार अभावमा अलपत्र अवस्थामा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन त भएको छैन त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयवासीले मर्मत गर्न माग गरेका छन् ।

दैनिकजसो बढ्दै गएको विद्युत्को मागलाई पूर्ति गर्नका लागि स्थानीय बासिन्दाले वायु ऊर्जा मर्मतका लागि माग गरेका हुन् । विसं २०६३ मा सो केन्द्र नै बन्द भएको थियो । टिटीबिजी नामक संस्थाले रु एक करोडभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजान निर्माण गरेको थियो ।

तर, संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि अयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय शिक्षक गोविन्द विश्वकर्माले बताए । केही उपकरण अझै पनि प्रयोग गर्न मिल्ने भएकाले सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाडाँमा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो ।

फलामखानी, भँगरालगायतका सयौँ घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयवासीले आग्रह गरेका छन्। हावाको मापनसमेत गर्न सकिने उक्त डाँडामा आयोजनाको काम पुनः परीक्षण गरी अगाडि बढाउन सकिने जनाइएको छ ।

उक्त योजनाबाट पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, सम्बन्धित पालिका तथा ऊर्जा मन्त्रालयलगायतसँग माग गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले तयार पारेको एक प्रतिवेदन अनुसार नेपालमा तीन हजार मेगावाट विद्युुत् हावाबाट उत्पादन गर्न सकिन्छ । उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो ।

वायु ऊर्जा आयोजना पुनःनिर्माण गर्न सकेमा फलमखानी करिब ४०० घरधुरी र छिमेकी वडा भँगरा र पाखापानीका बासिन्दा समेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयवासीको भनाइ छ । महाशिला गाउँपालिकाले वायु ऊर्जा आयोजनालाई व्यवस्थापन गर्ने योजना बनाएको छ । यसका बारेमा अध्ययन गरी पुनः सञ्चालन गर्ने वा त्यहाँ भएका उपकरणहरूको व्यवस्थापनबारे निणर्य गरिने गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७