वासिङ्टन र बेइजिङको टकराव चलिरहेको बेला ‘र’ का हाकिम र भाजपाका सचिव काठमाडौंमा सक्रिय


११ फाल्गुन २०७८, बुधबार
tirath singh yadav 1

उत्तराखण्डका पूर्वमुख्यमन्त्री तीरथसिंह रावत

काठमाडौं : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतामा राष्ट्रिय बहसभन्दा अन्तर्राष्ट्रिय टकराव र चासो चर्को रुपमा देखिएको छ । सार्वभौम देशले स्वतन्त्र रूपमा निर्णय गर्नुपर्ने सम्झौताबारे वासिङ्टन र बेइजिङ आमनेसामने भएको बेला छिमेकी भारत पनि सक्रिय देखिएको छ ।

भारतले आफ्ना दूतलाई स्थलमार्ग हुँदै आफ्ना दूतहरु नेपाल पठाएको छ । जहाज चढेर गरिने यात्रा अध्यागमनमा पासपोर्ट देखाउनुपर्ने र गोपनीयताका दृष्टिले उपयुक्त नहुने कारण उनीहरु स्थलमार्ग भएर नेपाल छिरेका हुन् ।

करिब ५५ अर्ब रुपैयाँको अमेरिकी अनुदानबारे काठमाडौंमा भइरहेका सघन बहसमा वासिङ्टन र बेइजिङले अतिरिक्त बल प्रयोग गरेको प्रति कूटनीतिज्ञहरूले पनि चिन्ता व्यक्त गरीरहेको बेला भारतीय जनता पार्टीमा राष्ट्रिय सचिवको जिम्मेवारीप्राप्त उत्तराखण्डका पूर्वमुख्यमन्त्री तीरथसिंह रावत र रञ्जित सिंहमा सक्रिय छन् ।

सन् २०२१ को मार्च १० देखि जुलाई ४ सम्म, अर्थात् दुई महिने मुख्यमन्त्री भएका रावत उत्तराखण्डस्थित गढवालका बासिन्दा हुन् । सन् २०१३ देखि १५ सम्म उत्तराखण्ड प्रदेश अध्यक्षको जिम्मेवारी सम्हालिसकेका उनले चौबट्टाखालबाट विधायक जितेका थिए ।

यसैगरी गत बुधबारदेखि ‘र’का दोस्रो हाकिम नेपालमा सक्रिय रहेको स्रोतको दाबी छ । ‘रअ’ का प्रमुख सामन्त गोयलपछि तीन वरिष्ठभित्र पर्ने दोस्रो वरियताका हाकिम चन्दर शर्मासहित चार जनाको टोली पनि भैरहवा नाका हुँदै आइतबार काठमाडौं आइपुगेको छ ।

टोलीमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल समूहका सदस्य पनि रहेको स्रोतले जनाएको छ । उनीहरुले बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा र पछि कालिमाटी रविभवन उकालोको क्राउन इम्पेरियलमा बसेर सक्रिय छन् ।

यता भारतले नेपालमा उसको गुप्तचर निकाय ‘रअ’ को अलग्गै भवन खडा गरेको छ । काठमाडौंको लैनचौरमा अवस्थित दूतावासमा यसै पनि ‘रअ’ को अलग्गै सेक्सन बनाएको हो ।

त्यसले नपुगेर उसले आफ्नो महावाणिज्यदूतावास रहेको शहर वीरगञ्जमा ‘रअ’ का निम्ति शहरभन्दा अलिपर ३ करोड लागतको अलग्गै भव्य भवन तयार पारेको छ । त्यहाँ शैलेन्द्र गुप्ताले ‘रअ’ को कमाण्ड सम्हालेका छन् । यता, नेपालका लागि दोस्रो हैसियतका ‘रअ’ कमाण्डरको रुपमा अनिलकुमार गिरी खटिएका छन् ।

चीन र अमेरिकापछि भारतको सक्रियता

यसअघि एमसीसीको बिषयमा अमेरिकाले नेपालमा ‘मिचाहा कूटनीति’ प्रयोग गरेको भन्दै चीनले प्रतिवादको चेतावनी दिएको छ । ६ फागुन २०७८ मा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वन पिनले अमेरिकाले नेपालमाथि ‘धम्की कूटनीति’ अपनाएको बताएको थिए । ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा मिचाहा कूटनीति सुरु गरेको छ। चीनले यसको प्रतिवाद गर्नेछ’ वाङले भनेका थिए ।

लगत्तै ७ फागुन २०७८ मा काठमाडौंस्थित अमेरिकी दूतावासले एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने सार्वभौम अधिकार नेपालकै भएको उत्तर फर्काएको थियो ।

दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अघिल्लो बिहीबार प्रधानमन्त्रीसहित तीन नेतालाई फोन गरेर एमसीसी सम्झौता अनुमोदन नभए नेपालसँगको सम्बन्ध पुनर्विचार गर्ने चेतावनी दिएका थिए । लुको चेतावनीपछि वाङ बोलेका थिए ।

यता नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीचले पनि भेटघाटलाई तिव्र बनाएका छन् । उनले मंगलबार नै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए । यसबिचमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पटक पटक भेटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७