सेनालाई प्रधानमन्त्रीको निर्देशन : भू-राजनीतिका कारण सुरक्षा चुनौती उत्पन्न हुनसक्छ, सचेत रहनुस्


११ फाल्गुन २०७८, बुधबार
deuwa

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भू-राजनीतिक संवेदनशीलताका कारण उत्पन्न हुने सम्भावित सुरक्षा चुनौतीतर्फ सचेत रहन नेपाली सेनालाई आग्रह गरेका छन् ।

जंगी अड्डामा बुधबार कमाण्ड सेनापति समन्वयात्मक बैठकको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले भू-राजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षामा आएको परिवर्तनले मुलुकको राजनीतिक, आर्थिक र समग्र सुरक्षामा असर पार्न सक्ने भन्दै त्यसतर्फ सचेत हुन सेनालाई आग्रह गरेका हुन् ।

सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले जस्तोसुकै परिस्थिति आए पनि जिम्मेवारी निर्वाह गर्न नेपाली सेना तयार रहेको बताए । प्रधानसेनापति शर्माले सरकारका आदेशहरु अक्षरस पालना गर्न नेपाली सेना कटिवद्ध रहेको प्रधानमन्त्रीलाई विश्वास दिएका थिए ।

pm 20220223093023

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले काठमाडौं-तराईरमधेस द्रुतमार्गलगायतका विभिन्न राष्ट्रिय सडक करिडोरहरुको निर्माणमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आयोजनाहरु समयमै सम्पन्न गर्न नेपाली सेना सक्षम रहेको बताएका थिए ।

नेपाली सेनाअन्तर्गत संचालित राष्ट्रिय गौरवका आयोजनालगायत महत्वपूणर् आयोजनाहरुको निर्माणका लागि आवश्यक पर्ने श्रोत साधनको अभाव हुन नदिन समेत प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे। बैठकमा प्रधान सेनापति, रक्षा सचिव, जंगी अड्डाका कमाण्ड सेनापतिहरुलगायत विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुखहरु तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरु उपस्थित थिए । बैठक दुई दिनसम्म चल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७