झलनाथ खनाल भन्छन्, ‘देउवाले अमेरिकाको दबाब थेग्न सकेनन्’


११ फाल्गुन २०७८, बुधबार
jhalanath khanal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबाबलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनको बैठकमा एमसीसीको कुरा बारम्बार गरिरहेको र दबाबका कारण चाँडो भन्दा चाँडो टुंग्याउने र एमसीसी नेपालको हितमा रहेको कुरा बताएको पनि उल्लेख गरेका छन् ।

खनालले एमसीसीबारे अध्ययनका लागि सरकारले गठन गरेको तीन सदस्य कार्यदलमा पनि हरेक पार्टीका नेताहरुको आ-आफ्नै धारणा आएकाले एमसीसीको बारेमा स्पष्ट लिखित धारणा नबनाइएको स्पष्ट पारे । उनले एमसीसीमा रहेका केही शर्तहरु अनावश्यक र आपत्तिजनक रहेको र कार्यदलले अध्ययनका क्रममा एमसीसीका २०१७ को दस्ताबेज र २०१९ को कार्यान्वयन सम्झौता भन्दा अन्य नयाँ नौ वटा सम्झौता फेला पारेको पनि बताए ।

खनालले एमसीसी दस्तावेजको अध्ययन गर्दा एमसीसी पास गरेपछि नेपालले अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणालाई पालन गर्नुपर्ने शर्त रहेको र यो नेपालका लागि स्वीकार्य नहुने बताए । उनले सम्झौता मानिसकेपछि नेपालले उद्धार अर्थतन्त्र मान्नुपर्ने, उद्धार लोकतन्त्र मान्नुपर्ने, बजार अर्थतन्त्र मान्नुपर्ने शर्त, अमेरिकाको प्रचलित कानूनहरु र पछि बन्ने कानूनहरु पनि मान्नुपर्ने जस्ता शर्त रहेको उल्लेख गर्दै यस्ता कुराहरुमा नेपालले एमसीसी पास गर्न नसक्ने बताए । उनले एमसीसी सम्झौता ५ वर्षका लागि भनिए पनि केही धारा तथा उपधाराहरुमा यो सदाका लागि रहिरहने उल्लेख गरिएको समेत बताएका छन् ।

खनालले अमेरिकी महाशक्तिका सामु नेपाल सरकार नतमस्तक भएर एमसीसी संसदमा पेश गरेको आरोप लगाए । पूर्व प्रधानमन्त्री खनालले एमसीसी सम्झौता दुई सरकारबीच नभइ नेपाल सरकार र अमेरिकी एक निगमबीच भएको बताए । उनले एमसीसी अन्तर्राष्ट्रिय सम्झौता नभएको भन्दै अमेरिकाले भन्दैमा नेपालको संसदबाट पारित गर्नुपर्ने कुरा स्वीकार्य हुन नसक्ने बताए ।

उनले सरकारले नेपालको संविधानको बिरुद्धमा गएर एमसीसी संसदमा पेश गरेको भन्दै यो सरकारको लज्जास्पद कुरा भएको बताए । उनले सत्ता गठबन्धनले चुनावपछि गहन छलफल गरेर निचोडमा पुग्ने प्रस्ताव राख्दा समेत प्रधानमन्त्री देउवाले अस्वीकार गरेको जानकारी दिँदै एमसीसी पास गराउन प्रधानमन्त्रीले एमालेसँग साँठगाँठ गर्नुको विकल्प नरहेको बताए ।

पूर्व प्रधानमन्त्री खनालले नेपाली काँग्रेसले एमालेसँग समीकरण गरेर एमसीसी पास गराए पनि आकाश पृथ्वी नखस्ने उल्लेख गर्दै आफू देश र राष्ट्रको हितमा, जनताको हितमा र यो राष्ट्रको अग्रगति, प्रगति र समृद्धिको हितमा निरन्तर रहने बताए । उनले आफ्नो पार्टीले एमसीसीको समर्थन नगर्ने पनि स्पष्ट गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७