जबरजस्ती करणीको जाहेरीपछि पललाई पक्राउ गर्न खोज तलासमा जुट्यो प्रहरी

पल शाह विरुद्धको जाहेरीको पूर्ण पाठ सहित


११ फाल्गुन २०७८, बुधबार
pal saha

काठमाडौं : कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्तापछि प्रक्राउ गर्न प्रहरीले खोजी सुरु गरेको छ । एक गायिकाले आफूलाई जबर्जस्ती करणी गरेको भनेर शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराए लगत्तै प्रहरीले पलको खोजी सुरु गरेको हो ।

१७ वर्षीया गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कारको जाहेरी दिएपछि खोजी सुरू गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका अधिकारीले जानकारी दिए । जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख छ ।

गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप लगाएकी छन्। उजुरीमा भनिएको छ, ‘निज पूर्ण विक्रम शाह (पल शाह) ले देखावटी रुपमा माया प्रेम गरेको बहाना गरी भिडियो सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएका रहेछन् । निज पूर्ण विक्रम शाह र मेरी नाबालिका छोरीले संयुक्त रुपमा धेरै म्युजिक भिडियोमा सँगै मोडलको रूपमा काम गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकेर राति होटलहरूमा बास बस्ने क्रममा पटक पटक जबरजस्ती करणी गर्न खोजेकोमा छोरीले असहमति जनाएका कारण सफल हन नसकेको रहेछ ।’

त्यही क्रममा पोखरामा सुटिङबाट काठमाडौं फर्कने क्रममा तनहुँको दुलेगौंडामा प्रदीप थापाको घरमा बास बसेको र शाहले मदिरापान गरेर मध्यरातमा जबर्जस्ती गरेको जाहेरीमा उल्लेख छ । भनिएको छ, ‘छोरीले कोठा खोलिदिए पश्चात् निज प्रतिवादी छोरी सतेको कोठामा आएर छोरीलाई ललाई फकाई माया प्रेम गरेको बहाना बनाइ तिमीले काठमाडौँको कोठा सर्नपर्‍यो म तिम्रो कोठामा दिन दिनै आउँछु, तिम्रो बारेमा नराम्रो कुरा सुने भने मैले राम्रो मान्दिनँ भनी उमेर पुगे पछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई छोरीको असहमति हुँदा हुँदै पनि जबर्जस्ती करणी गरेका रहेछन् ।’

जाहेरीको पूर्ण पाठ :

निज पूर्ण विक्रम शाह (पल शाह) ले देखावटी रुपमा माया प्रेम गरेको बहाना गरी भिडियो सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएका रहेछन् । निज पूर्ण विक्रम शाह र मेरी नाबालिका छोरीले संयुक्त रुपमा धेरै म्युजिक भिडियोमा सँगै मोडलको रूपमा काम गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकेर राति होटलहरूमा बास बस्ने क्रममा पटक पटक जबरजस्ती करणी गर्न खोजेकोमा छोरीले असहमति जनाएका कारण सफल हन नसकेको रहेछ ।

यस क्रममा २०७७/१२/३१ गते बागलुङ जिल्लाको गलकोट महोत्सवमा प्रतिवादी पूर्ण विक्रम शाह, दुर्गेस थापासमेतका कलाकारहरूसँग मेरी नाबालक छोरी एकै गाडीमा बागलुङको गलकोट गएकोमा उक्त स्थानमा जाँदा र फर्कँदा निज प्रतिवादी र मेरी छोरी एकै सिटमा यात्रा गर्दाको बखत समेत बाल यौन दुरुपयोग गरी संवेदनशील अङ्गमा चलाउने, जिस्काउने , समात्ने जस्ता कार्य समेत गरेको र मिति २०७८/०१/०२ गते काठमाडौँ पुगी छोरी आफ्नो कोठामा गई बसिन्, र काठमाडौँको बसाईमा सामान्य भेटघाट समेत गर्दै आइरहेका रहेछन्, त्यसपछि छोरी घरमा आई १ हप्ता जति बसे पश्चात् निज प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह) ले फोन गरी सुटिङको लागी म पोखरा आउँदै छु, तिमीलाई म भेट्छु, भनी पोखरा स्थित लेकसाईडमा भेटघाटको लागी बोलाई भेटघाट गरी लकडाउनको हल्ला चलेको हुँदा छोरी पनि काठमाडौँ जानु पर्ने भएको हुँदा मिति २०७८/०१/१४ गते साँझ १९:०० बजे पोखराबाट काठमाडौँ फर्किने क्रममा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका न.पा वडा नं. ४ दुलेगौडा स्थित प्रतिवादीको चिनजानको व्यक्ति प्रदीप थापाको घरमा बसेका अवस्था नाबालिका छोरी दिन भरीको थकानले खाना खाएपछि उक्त घरको दोस्रो तलामा सुत्न गएकी र प्रतिवादी पूर्ण विक्रम शाह र कमल खत्री भन्ने व्यक्ति सोही घरको छुट्टै कोठामा राती अन्दाजी ११ बजेसम्म रक्सी खाएर बसेको र राती अं. १२ बजे तिर निज प्रतिवादीले छोरीको म्यासेन्जरमा म तिम्रो कोठामा आउँछु भनेर म्यासेज गरेको र तुरुन्तै छोरीको कोठा ढक ढक गर्न आएका रहेछन् । 

छोरीले कोठा खोलिदिए पश्चात् निज प्रतिवादी छोरी सतेको कोठामा आएर छोरीलाई ललाई फकाई माया प्रेम गरेको बहाना बनाइ तिमीले काठमाडौँको कोठा सर्नपर्‍यो म तिम्रो कोठामा दिन दिनै आउँछु, तिम्रो बारेमा नराम्रो कुरा सुने भने मैले राम्रो मान्दिनँ भनी उमेर पुगे पछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई छोरीको असहमति हुँदा हुँदै पनि जबर्जस्ती करणी गरेका रहेछन् ।

छोरीलाई माया गरेको देखाउनुको लागि वारदातको भोलिपल्ट ढोर वाराही मन्दिर समेत घुमाई, दलेगौंडाको सुटिङ सकेर काठमाडौँ गएका रहेछन् ।

कानूनमा के छ ?

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ । उक्त दफाले कसैले कुनै महिलालाई निजको मंजुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ ।

नेपालको कानूनले नाबालिगसँग शारीरिक सम्बन्ध राख्ने पुरुषलाई कडा सजायको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरको बालिकारकिशोरीसँग सहमतिमै भएको यौन सम्बन्ध पनि जबर्जस्ती करणी मानिन्छ ।
उपदफा ३ मा पीडितको उमेर समूहअनुसार सजायसम्बन्धी व्यवस्था छ । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा माथिको महिलामाथि करणी भए जन्मकैद हुन्छ ।

१० वर्ष वा १० वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरकालाई करणी भए १८ देखि २० वर्षसम्म कैद सजाय हुन्छ । १४ वर्ष वा १४ वर्षदेखि माथी र १६ वर्षभन्दा कम उमेरकालाई करणी भए १२ देखि १४ वर्षसम्म कैद हुन्छ । यस्तै, १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेर भएकालाई करणी भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । १८ वर्ष वा १८ वर्षभन्दा माथि उमेरकालाई करणी भए ७ देखि १० वर्षसम्म कैद सजाय हुन्छ ।

दफा २२८ ले पिडितलाई पीडकबाट ‘मनासिव’ क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था पनि गरेको छ । दफा २ सय १९ अन्तर्गतका कसुरको हकमा कसुर भएको एक वर्षभित्र उजुरी गरिसक्नुपर्ने र त्यसभन्दा पछि उजुरी गरेमा उजुरी नलाग्ने व्यवस्था छ । दफा २२० अन्तर्गतको कसुर भए जहिले पनि उजुरी लाग्न सक्छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७