इजरायल र कोरियाले थप क्षेत्रमा कामदार लिने


१२ फाल्गुन २०७८, बिहीबार
isreal

काठमाडौं । सरकारले कोरियाको कृषिमा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्रमा थप नेपालीलाई रोजगारीका अवसर दिन अध्ययन टोली गठन गरेर काम सुरु गरेको छ । कोरिया र इजरायलमा यसअघि पनि अन्य रोजगारीका क्षेत्रमा नेपाली श्रमिक गइरहेका छन् ।

इजरायलको केयरगिभर सेवा क्षेत्रमा हालै एक हजार १७५ नेपाली श्रमिक पठाउने तयारी पूरा गरेको नेपालले थप नेपाली पठाउन गृहकार्य सुरु गरेको छ । हालसम्म २ सय १९ नेपाली इजरायल प्रवेश गरिसकेका छन् भने बाँकी नौ सय नेपालीको अभिमुखीकरणको काम भइरहेको छ ।

यसैगरी रोजगार अनुमति प्रणालीअन्तर्गत श्रमिक गइरहेको कोरियामा समेत थप नेपालीलाई पठाउने तयारी भएको छ । कोरियाले वर्षको ६ महिना काम गर्ने गरी त्यहाँको कृषि क्षेत्रमा नेपाली कामदार माग गरेपछि नेपालले त्यसका लागि गृहकार्य सुरु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यसैगरी विगत दुई वर्षदेखि रोकिएको कोरियाको उडानसमेत सुचारु भएको छ । मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा अध्ययन गर्न मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

दक्षिण कोरियाका स्थानीय सरकार तथा नेपालका स्थानीय सरकारबीच भगिनी सम्बन्ध कायम गर्दै मौसमी कामदार पठाउने विषयमा अध्ययन गर्न कार्यदल बनाइएको हो । दक्षिण कोरियाको न्याय मन्त्रालयले त्यहाँको ग्रामीण क्षेत्रमा ३ देखि ५ महिनाका लागि मौसमी कामदारको रूपमा विदेशी नागरिक ल्याउने नयाँ नियम हालै जारी गरेको छ । कारोबार दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७