कांग्रेसले शर्त माने एमसीसी पास गर्न एमालेले सघाउने


१२ फाल्गुन २०७८, बिहीबार
Kp oli deuwa

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली काँग्रेस तयार भए एमसीसी अनुमोदनमा सघाउने संकेत गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस नेताहरूसँग पटक पटक भएका संवादपछि एमालेले सभामुखविरुद्ध महाभियोग ल्याए संसद् अवरोध हटाउनुका साथै एमसीसी पारित गर्न सहयोग गर्ने संकेत गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका नेताहरू र एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरूबीच एमसीसीलाई लिएर पटक पटक वार्ता भएको छ ।

एमालेले संसद्को अवरोध हटाउन सभामुखबाट सापकोटाको बहिर्गमन वा पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने सर्त राखेको छ । काँग्रेसले सभामुखको बहिर्गमनबारे सोच्न सकिने जवाफ दिएपछि एमालेले पनि सकारात्मक संकेत दिएको स्रोतको दाबी छ ।

‘हाम्रा माग सम्बोधनका विषयमा काँग्रेसले सकारात्मक प्रतिक्रिया दिएको छ,’ एमालेका एक उच्च नेताले भने । ती नेताका अनुसार माओवादी केन्द्रले धोका दिएकै कारण काँग्रेसले एमालेको साथ खोजेको र एमालेले पनि विश्वसनीय आधार बनाउन सांसदहरूको हस्ताक्षर खोजेको हो । काँग्रेसका एक नेताका अनुसार सांसदको हस्ताक्षर पनि तयारी अवस्थामा भएकाले एमालेको माग सम्बोधन हुने सम्भावना बढेर गएको छ । सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे संसद् मा दुईतिहाइ पुर्‍याउन आफूले सहयोग गर्ने आश्वासन एमालेले प्रधानमन्त्री देउवालाई दिएको स्रोतको दाबी छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७