काठमाडौं-मस्को सिधा हवाई उडानका लागि पहल गर्न आग्रह


१२ फाल्गुन २०७८, बिहीबार
Nepal Airlines plane
फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई रसियाका गैरआवासीय व्यापार प्रतिनिधि एलेक्जेण्डर रिवासले काठमाडौं-मस्को सिधा हवाई उडान सञ्चालनका लागि दुई पक्षीय छलफल अगाडि बढाउन समन्वय गर्न आग्रह गरेका छन् ।

विगतमा भइरहेको काठमाडौं-मस्को हवाई उडान पछिल्लो समय विभिन्न कारण बन्द रहेकाले पुनः सञ्चालनका लागि पहल गर्न मन्त्री आलेलाई रिवासले आग्रह गरेका हुन् । मन्त्रालयमा बुधबार भएको शिष्टाचार भेटघाटमा रसियाका गैरआवासीय व्यापार प्रतिनिधि रिवासले नेपाल-रसिया व्यापार, व्यवसाय तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुई देशबीच सहकार्य गरी काम अगाडि बढाउन आग्रह गरे ।

साथै रिवासले रसियल हवाइजहाज र हेलिकप्टर नेपाललाई के कति आवश्यक पर्छ भन्ने विषयमा जानकारीसमेत लिए । रिवासले राखेका कुरामा मन्त्री आलेले रसियन हवाई जहाज सुप १०० वित्तिय व्यवस्थापनसहित सहुलियत दरमा दिनसक्ने खण्डमा नेपाल एरलाइन्स सहकार्य गर्न इच्छुक रहेको जानकारी दिए ।

यसैगरी मन्त्री आलेले काठमाडौँ-मस्को सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक पहल गर्ने तथा भविष्यमा नेपाल एयरलाइन्सले पर्यटन प्रवर्द्धनका लागि आन्तरिक हेलिकप्टरबाट पर्यटकका लागि उडान गर्ने योजना बनाइरहेकाले यसका लागि रसियाको हेलिकप्टर कम्पनीसँग सहकार्य गर्न सकिने प्रतिबद्धता जनाएको उनका सल्लाहकार गोरे राईले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७