एमसीसी पारित गर्न शीर्ष नेताहरूमाथि दबाब बढ्दै


१२ फाल्गुन २०७८, बिहीबार
satta

काठमाडौं । अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो ।

सत्तारूढ दल नेपाली काँग्रेस एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा छ । त्यस्तै सत्ताका दुुई घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालमाथि पनि पारित गर्न दबाब बढ्दै गएको छ ।

अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी)का वरिष्ठ नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री पदमा रहँदा २०६८ मा एमसीसी सम्झौताका अध्याय प्रारम्भ भयो तर अनुमोदनको चरणमा आइपुग्दा प्रचण्ड र डा. भट्टराई अलग-अलग पार्टीको नेतृत्व गरिरहेका छन् ।

त्यसै कारण दुवै नेतालाई आफैँले अघि बढाएको एमसीसी परियोजना अनुमोदनका लागि नैतिक दबाब छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदनका लागि गरेको आग्रह नकार्ने अवस्थामा उनीहरू छैनन् किनभने यो विषय सत्ता गठबन्धनसँग पनि गाँसिएको डा. भट्टराई बताउँछन् ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिँदै यसमा राष्ट्रघाती विषय नरहेको यसअघि नै बताइसकेका छन् तर एमालेले संसद् अवरोध जारी राखेको छ । एमसीसी निणर्यार्थ प्रस्तुत हुँदा एमालेको भूमिका के हुन्छ भन्ने विषयमा ओली बोलेका छैनन् । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. भट्टराईले एमसीसी ढिला नगरी अनुमोदन गर्नुपर्ने बताए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७