रुसी आक्रमणबारे डकुमेन्ट्री बनाउन ओस्कार विजेता निर्देशक युक्रेनको किभमा


१४ फाल्गुन २०७८, शनिबार
sean penn in ukarine2022 02 26 02 35 41

काठमाडौं । अमेरिकी अभिनेता तथा निर्देशक सिन पेन युक्रेनको राजधानी किभ पुगेका छन् । अभिनेता तथा निर्देशक पेन रुसी आक्रमणबारे डकुमेन्ट्री बनाउन राजधानी किभ आएको युक्रेनको राष्ट्रपति कार्यालयले जनाएको छ ।

दुई पटकसम्म ओस्कार अवार्ड विजेता पेन युक्रेन सरकारले राजधानी किभमा गरेको पत्रकार सम्मेलनमा देखिएका छन् । युक्रेनको राष्ट्रपति कार्यालको इन्स्टाग्राम एकाउन्टबाट पोस्ट गरिएको भिडियोमा पेन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग देखिएका छन् ।

‘निर्देशक (पेन) किभ आएका छन् । विशेष गरी युक्रेनमा भइरहेका सबै घटनाहरुको रेकर्ड गर्न र एक डकुमेन्ट्री निर्माताका हिसाबले रसियाले हाम्रो देशलाई गरेको आक्रमणको सत्यता विश्वलाई सुनाउन उनी यहाँ आएका हुन्’, राष्ट्रपति कार्यालयले बिहीबार गरेको फेसबुक पोस्टमा भनिएको छ ।

‘आज सिन पेन युक्रेनमा रहेर युक्रेनलाई समर्थन गर्नेहरुमध्ये एक हुन् । यस्तो साहस र इमानदारीताका लागि हाम्रो देश उनीप्रति कृतज्ञ छ’, सो पोस्टमा भनिएको छ, ‘पेनले यस्तो प्रकारको साहस देखाएका छन् जुन कयौं पश्चिमी राजनीतिज्ञलगायत धेरैसँग छैन ।’

पेनले गत नोभेम्बरमा युक्रेनको भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले युक्रेनका सैन्य अधिकारी तथा पत्रकारहरुसंग छलफल गरेको युक्रेनको राष्ट्रपति कार्यालयले जनाएको छ । ६१ वर्षीय निर्देशकले भाइस स्टुडियोका लागि डकुमेनट्री बनाउन लागेको बताइएको छ । उनी रसियाले युक्रेनका विभिन्न शहरमा आक्रमण गर्दै गर्दा युक्रेन पुगेका हुन् ।

सन् २०१८ मा पेन साउदी अरेबीयाका पत्रकार जमाल खसोगीको हत्याबारे डकुमेन्ट्री बनाउन टर्की पुगेको बताइएको थियो । सो डकुमेन्ट्री रिलिज भने भएको छैन । अलजजिराबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७