विद्यार्थीमा एसईईको हाउगुजी


१५ फाल्गुन २०७८, आईतवार

-सुष्मा सुब्बा (लामा)

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को असरले विशेषगरी स्कुले बालबालिकालाई प्रभाव पारेको छ । सरकारी ओहदामा बस्नेहरूका पनि आआफ्नै समस्या होलान्, त्यसो भन्दै गर्दा विगतका दुई वर्ष भौतिक रूपमा जाँच नगराउँदा पनि हुने अनि यो वर्ष मात्रै किन विद्यार्थीलाई एसईईको हाउगुजी देखाउने त ? यतिबेला यो प्रश्न तेर्सिएको छ ।

पहिलेदेखि नै एसईई अर्थात् साबिकको एसएलसी खारेज गरौँ भन्दै सरकारी निकायका पदाधिकारी कराउँदै आए । होमा हो गर्दै निजी विद्यालयअन्तर्गतका प्याब्सन, एन प्याब्सन पनि निकै ताते । तथापि अहिले यस्तो अवस्थामा भौतिक रूपमा विद्यार्थीलाई परीक्षामा सामेल गर्ने सरकारी रवैया देखावटी मात्रै त होइन ?

एसईईमा अहिले जम्माजम्मी आठवटा विषय हुन्छन् । कक्षा आठमा पढ्दै आएका विद्यार्थी करिब कोभिडकै कारण सबैभन्दा बढी प्रताडित छन् । किनकि उनीहरू नै त्यस्ता विद्यार्थी हुन्, जसले लामो समय अनलाइनबाटै कक्षा लिए, भौतिक रूपमा लामो समय घरमै बस्नुपर्ने बाध्यता भयो । यसअघि र त्योभन्दा पनि पहिलो वर्ष सरकारले मेरिटका आधारमा जाँच लियो, नतिजा पनि सोही प्रकारले सार्वजनिक गर्‍यो । अहिले आएर आजको आजै कक्षा सञ्चालन गर्ने अनि दुई महिनामै कोर्ष पनि सकिने र परीक्षाका लागि तमाम विद्यार्थी तयार हुने भन्ने कुरा सम्भव छैन । अन्ततोगत्वा कक्षा १२ नै विद्यालयस्तरका पढाइका लागि मुख्य ढोका हो पनि भनिँदै आएको अवस्था छ ।

विगतको एसएलसी र अहिलेको एसईईमा के समस्या छ भने विद्यार्थी एउटा विषयमा फेल भयो भने ऊ पठनपाठनका लागि फेरि विद्यालय जाँदैन । किनभने फेल पास हुने कुरालाई एउटा विद्यार्थीले प्रतिष्ठाका रूपमा लिएको हुन्छ । यस पटकको एसईई परीक्षामा सामेल हुने विद्यार्थी लामो समयसम्म कोभिडका विभिन्न प्रकारका वेबबाट प्रभावित भएका नै छन् । उनीहरूमा कन्फिडेन्ट लेभल पनि कमजोर भएको छ । केही समयअघि पनि सरकारले भौतिक रूपमा कक्षा सञ्चालन नगराउनू भन्दै उर्दी जारी गर्‍यो, त्योभन्दा अघि पनि तिनै विद्यार्थीले लामो समय घरमै बसेर अनलाइन कक्षाबाट आफूलाई जसरीतसरी तयारी बनाउँदै ल्याए । अहिले आएर फेरि तिनैलाई वैशाखबाट एसईईका लागि तयार होऊ भन्ने नैतिक आधार हामीसँग छ त ?

उमेरका हिसाबले पनि एसईई दिने एउटा विद्यार्थी सबल भएको हुँदैन । यो उमेर समूहका केटाकेटी नाबालक नै हुन् । तिनको अद्र्धचेतन मस्तिष्क पनि बलियो र पूणर् रूपमा सोच्ने अवस्थामा पुगिसकेको हुँदैन । स्मरण शक्तिका हिसाबले पनि यो उमेर समूहका बालबालिका कमजोर नै हुन्छन् । बल्ल त उनीहरूको मस्तिष्कको विकास हुँदै गरेको हुन्छ । यो उमेरमा एउटा ढोका बन्द हुँदा अर्को ढोका खुल्छ भन्ने ज्ञानको विकास पनि भएको हुँदैन ।

विद्यार्थीलाई विगतदेखि नै एसईई अर्थात् विगतको एसएलसी ‘आइरन गेट’ हो भनिँदै आइयो । विद्यार्थी पनि एसईईलाई यसरी तयारी गर्नुपर्छ कि मानौँ- जीवनको ठूलो उपलब्धि नै त्यही हो भन्नेमा विश्वस्त छ । स्कुलहरू पनि दिनरात एसईईकै तयारीमा हुन्छन्, सकेसम्म बढी अङ्क ल्याउने होडबाजीमा परम्परागत स्कुलले विद्यार्थीलाई यति धेरै बर्डेन दिएका हुन्छन् कि त्यसको कुनै सीमा नै हुँदैन । यस्तो अवस्थामा अहिले सरकारले जुन प्रकार भौतिक रूपमा उपस्थित गराउँदै एसईईको जाँच गर्ने उद्घोष गरेको छ, त्यसका बारेमा केही सोच्ने हो कि ?

मान्छेको शारीरिक हिसाबले विकासको कुरा गर्ने हो भने पनि एउटा दाँतपछि मात्रै अर्को दाँत आउने हो । त्यसैगरी अद्र्धचेतन मनको विकास पनि क्रमिक रूपले हुँदै जाने हो । फेरि अहिले जो जसले एसईईको जाँच दिने तयारी गरिरहेका छन्, तिनलाई त तीन-तीन पटकको कोभिड-१९ का विभिन्न प्रकारका वेबले यति गलाइसकेको छ कि अब उनीहरू दौडन नसक्ने अवस्थामा पुगिसकेका छन् । विगतमा पनि केही विद्यार्थीलाई ‘कोभिड फोबिया’कै कारण समस्या आएको कुरालाई विभिन्न सञ्चारमाध्यमले बाहिर ल्याएका थिए ।

अहिलेको अवस्थामा बढीभन्दा बढी विद्यार्थीले ‘ग्रेड ए’ नै ल्याउँछन् भन्ने पनि छैन । विद्यार्थीमा महामारीको फोबिया यति धेरै छ कि ऊ बल्ल त तङ्ग्रिन खोजिरहेको छ, अनि यस्तो बेलामा एसईईको झोला बोकाएर ‘हिँडे हिँड नभए कुट्छु’ भन्नु समय सान्दर्भिक हुँदैन ।

यस्तो प्रवृत्तिले बालमस्तिष्कमा नकारात्मक प्रभाव पार्न सक्छ । कम्तीमा पनि यो वर्षसम्मका विद्यार्थीलाई चाहिँ सरकारले आन्तरिक मूल्याङ्कनकै आधारमा एसईई परीक्षाको नतिजा दिलाउनुपर्छ । एसईईको जाँच दिन लागेका विद्यार्थीलाई कुनै हालतमा टर्चर दिनु हुँदैन । लामो समय कोभिडको ‘ह्याङओभर’मा रहेका विद्यार्थीलाई फेरि जाँचको भूत देखाउनु उपयुक्त होइन ।

हुन त यसबीचमा धेरै विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे तर त्यो कति प्रभावकारी भयो भन्ने त अहिले देखिँदै आएको छ । अनलाइनले विद्यार्थीलाई मोनोटोनस बनाएको छ, घरमै बसेर पढ्ने बानीले शारीरिक व्यायाम नहुँदा विद्यार्थी भद्दा भएका छन् । शिक्षकले भनेको भन्दा प्रविधिमा देखेका र भेटेका कुरामा अहिलेका विद्यार्थी भरपर्दा कस्तो अवस्था आउँछ, सोचनीय विषय बन्ने गरेको छ । लामो समय अनलाइनकै भर पर्दा कतिपय अभिभावकले आफ्ना नानीलाई रायसल्लाह दिन सके पनि होलान् तर धेरैको अवस्था फरक छ ।

शिक्षकले भौतिक उपस्थिति देखाउँदै पढाउँदा त कति धेरै समस्या आउँथे भने अहिले त पढ अनलाइन, नपढ अनलाइन भनेजस्तो भयो । अनलाइनको भूतले पनि विद्यार्थीलाई निरश बनाएको छ । अहिलेको समस्याले समस्त विद्यार्थीलाई ‘आइसबर्ग’जस्तो बनाएको छ । आइसबर्गमा मात्रै माथिकोे टुप्पो हेरिन्छ तर तल त्यसले कति धेरै ठाउँ लिएको हुन्छ भन्ने कुरामा कसैको ध्यान गएको हुँदैन ।

सरकारले अहिले विद्यार्थीलाई एकतर्फी रूपमा मात्रै हेरेको अवस्था छ । वर्ष दिनभरि पढाउनुपर्ने कोर्ष दुई महिनामा सिध्याऊ भन्ने अनि परीक्षाका लागि आफ्ना विद्यार्थीलाई तयारी हालतमा बस भन्नु पक्कै पनि न्यायसङ्गत होइन । अनलाइनले त विद्यार्थीलाई एउटा कोठाभित्र मात्रै सीमित बनाइदिएको छ । सामाजिक रूपमा पनि हाम्रा विद्यार्थी कमजोर भएका छन् । तसर्थ अहिलेको समस्यालाई सबै मिलेर हल गर्नुपर्छ । विद्यार्थीलाई एसईईको भूत देखाउनेभन्दा पनि अब यसै वर्षबाट यो परीक्षा प्रणालीलाई खारेज गर्नसके त्यसले पक्कै पनि भोलिका दिनमा सरकारले सोचेजस्तो उच्च शिक्षाका लागि हाम्रा विद्यार्थी तयार हुन्थे कि ? गोरखापत्र दैनिकबाट साभार

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७