पर्यटनमन्त्री धामीलाई हराउँदै चौधरी बने माओवादी सुदूरपश्चिमको अध्यक्ष


१७ फाल्गुन २०७८, मंगलवार
hariram chaudhary

महेन्द्रनगर । प्रदेश सम्मेलन उद्घाटनको तीन महिनापछि नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशको नयाँ कमिटी गठन गरिएको छ । आकांक्षीबीच सहमति नजुटे पछि निर्वाचन प्रक्रियाबाट नयाँ कमिटी गठन गरिएको हो ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी निर्वाचित भएका छन् । सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई पराजित गर्दै चौधरी अध्यक्षमा निर्वाचित भएका हुन ।

प्रदेश निर्वाचन समितिका अनुसार खसेको २१० मतमध्ये अध्यक्षमा निर्वाचित चौधरीले ११४ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी पर्यटनमन्त्री धामीले ९३ मत मात्रै ल्याए । यस्तै उपाध्यक्षमा मानसिंह मालले १२४ मत, रणबहादुर कुँवर १०१ र अक्कल रावल १०० मत सहित निर्वाचित भएका छन् । उपाध्यक्षका प्रतिस्पर्धी लोकबहादुर बोहरा, मिनबहादुर घर्ती र दुर्गा बडुवालले क्रमशः ७२, ५६ र ३५ मत प्राप्त गरेका थिए ।

सचिवमा १६४ मत ल्याएर जनकबहादुर बुढा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अमरसिंह चौधरीले ३८ मत मात्रै प्राप्त गरे । यस्तै सहसचिवमा नन्दबहादुर साउद, रामबहादुर देवकर र अन्जिता श्रेष्ठ क्रमशः १५७, १४६ र १०८ मत सहित विजयी भएका छन् । सहसचिवका प्रतिस्पर्धी प्रेमा कुमारी ओली र अमित दहितले क्रमशः ८६ र ६५ मत प्राप्त गरेका थिए ।

कोषाध्यक्षमा कमल कुमारी शाह ११३ मत सहित निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी विनिता बिकले ८४ मत मात्रै पाइन् । मंसिर २४ र २५ गते धनगढीमा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश सम्मेलन आयोजना गरिएको थियो । तर, नेतृत्वका आकाँक्षीले आफ्नो दाबीबाट पछि नहट्दा प्रदेशले सम्मेलन भएको तीन महिनासम्म नयाँ नेतृत्व पाउन सकेको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७