एमसीसीको विरोधमा सुर्खेतमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, दुई दर्जन बढी पक्राउ

डेढ दर्जन प्रहरी घाइते, गोली हान्नेसम्मको आदेश


१७ फाल्गुन २०७८, मंगलवार
karphu surkhet2022 03 01 10 20 17

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एमसीसीविरुद्धको प्रदर्शन भड्किएपछि लगाइएको कर्फ्यु तोड्दै आज (मंगलबार) पनि विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनकारी र प्रहरीबीच आज बिहान झडप हुँदा प्रहरी निरीक्षकसहित डेढ दर्जन प्रहरी घाइते भएका छन् भने प्रहरीले दुई दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । घर बाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरीहरु घाइते भएका हुन । दुई जना प्रदर्शनकारी पनि घाइते भएको जनाइएको छ । सोमबार भएको प्रदर्शन भड्किएपछि स्थानीय प्रशासनले सोमबार राति ८ बजेदेखि आज साँझ ७ बजेसम्मका लागि वीरेन्द्रनगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रदर्शनकारीले नेपाली कांग्रेस र माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा आगजनी र तोडफोड गरेका थिए ।

सोमबार दिनभर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको अवस्था तनावग्रस्त बनेको थियो । एमसीसी सम्झौता संसद्बाट पारित गरेको विरोधमा आह्वान गरिएको नेपाल बन्दको क्रममा आयोजित प्रदर्शन प्रहरीसँगको झडपमा परिणत भएको थियो । सोमबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले नेपाल बन्द घोषणा गरेका थिए ।

स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिन सोमबार राति आठ बजेदेखि मंगलबार साँझ साढे सात बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्न राजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू कायमै छ ।

प्रमुख जिल्ला अधिकारी रिजालले कर्फ्यू आदेशलाई उल्लङ्घन गर्नेलाई गोली समेत हान्न सकिने आदेश जारी गरिएको जानकारी दिए । उनले भने,‘ हामी सुरुमा सम्झाई बुझाई गर्छौ । यदि आदेशको वास्ता नै नगरी बढ्ता भएको खण्डमा गोली समेत हान्न सकिने आदेश जारी छ ।’ मंगलबार बिहानैदेखि वीरेन्द्रनगरमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले सडकमा ननिस्कन आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७