धरानको होटलमा महिलाको शव फेला, सँगै बसेका पुरुष फरार


१७ फाल्गुन २०७८, मंगलवार
thumb 1

सुनसरी । सुनसरीको धरान-१८ बुद्धचोकस्थित एक होटलको कोठामा अधबैंसे महिलाको शव भेटिएको छ । न्यू कान्तिपूर होटल एण्ड गेस्ट हाउसको कोठामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । । मंगलबार (आज) बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

दुई दिनदेखि ती महिलासँगै एक जना पुरुष होटलको १०९ नम्बरको कोठा बुक गरेर बसेको होटल सञ्चालक सुशील जिमीले जानकारी दिएका छन् । बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगाएको देखेर कोठमा छिरेका कर्मचारीहरूले बेडमा सुतेकै अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सोमबार बेलुकासम्म महिलासँगै एक पुरुष पनि सँगै बसे पनि बिहान भने ती पुरुष थिएनन् । फरार रहेका ती पुरुष र मृतक महिलाबीचको सम्बन्ध खुल्न सकेको छैन । धरानस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार महिलाको सनाखत हुन सकेको छैन ।

उनले भने, ‘मृतक महिलाको शवको सनाखत हुन नसके पनि उनको साथबाट पाँचथरको मिक्लाजुङ ठेगाना रहेको सुमित्रा तामाङ नामको एक नागरिकता फेला परेको छ । प्रहरीले फरार पुरुषको खोजी र अनुसन्धान गरिरहेको छ ।’

प्रहरी नायव उपरीक्षक कुँवरले शवको सनाखत गर्न परिवार तथा आफन्तजनको खोजी भइरहेको र मृतक महिलाका आफन्तजन आएपछि मात्र शव हेर्ने, घटना प्रकृति मुचुल्का गरिने उनले बताए । महिलाको अनुहारमा चोट समेत देखिएकाले हत्या हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७