एउटा स्वास्थ्य चौकी जहाँ बिरामीका लागि घरबाटै पानी ल्याउनु पर्छ


१७ फाल्गुन २०७८, मंगलवार
health

दाङ । स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्य चौकीका बिरामीले पानी खान पनि पाउँदैनन् । तुलसीपुर उपमहानगरपालिका-१३ फुलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन । विसं २०३१ देखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य चौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज ज्ञानबहादुर डाँगीले बताए ।

‘सबैभन्दा समस्या हाम्रो स्वास्थ्यचौकीमा खानेपानीकै छ, यहाँ पानीको व्यवस्था नभएकाले बिरामीले घरबाटै पानी बोकेर ल्याउनुपर्ने अवस्था छ’, उनले भने, ‘यहाँ कार्यरत कर्मचारीले पनि घरबाटै पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ ।’ बिरामीलाई पनि कहिलेकाहीँ औषधि खुवाउन कर्मचारीले नै पानी ल्याएर खुवाउनुपर्ने अवस्था छ ।

धारा जडानका लागि पटक-पटक सम्बन्धित निकायमा आग्रह गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन । कार्यालयमा स्यालो ट्युबेल जडान गर्न सकिने भएकाले यसका लागि पनि भने छलफल अघि बढाइएको इञ्चार्ज डाँगीले बताए ।

उक्त स्वास्थ्य चौकीमा एक अनमी, दुई अहेब, एक जनस्वास्थ्य निरीक्षक, एक ल्याब असिस्टेन्ट कार्यरत छन् । त्यहाँ ल्याब, बर्थिङ सेन्टरलगायत सेवा पनि सञ्चालनमा रहेपनि मापदण्डअनुसारको भवन नहुँदा पनि समस्या भएको इञ्चार्ज डाँगीका भनाइ थियो । ‘हामीसँग १० कठ्ठा जग्गा छ, त्यहाँ राम्रो मापदण्ड भएको भवन निर्माण गर्न सकिन्थ्यो’, उनले भने, ‘अहिलेसम्म पुरानै भवनमा छौँ, मापदण्ड अनुसारका भवन नहुँदा समस्या भएको छ ।’ एउटा कोभिड भवन पनि आवश्यक रहेको इञ्चाज डाँगीको भनाइ थियो ।

बर्थिङ सेन्टरमा मासिक छ जना

स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा मासिक सरदर छ जनाले सेवा लिने गरेका छन् भने ल्याब सेवामा मासिक सरदर २०-२२ जनाले सेवा लिने गरेका छन् । ल्याबका लागि चाहिने आवश्यक सामग्री समेत उपमहानगरपालिकाले उपलब्ध नगराएकाले कर्मचारीले नै ल्याउनुपर्ने अवस्था छ ।

राज्यमन्त्रीको चासो

उक्त स्वास्थ्य चौकीबारे गुनासो बढेपछि बल्ल लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी खत्री (वली) ले चासो देखाएकी छन् । उनले स्वास्थ्य चौकीको अनुगमनपछि त्यसलाई सुधार गर्न पहल थाल्ने बताइन् । ‘त्यहाँ पानीको पनि समस्या देखियो, सामग्री पनि आफै खरिद गर्नुपर्ने अवस्था देखियो, भवनको पनि त्यतिकै समस्या रहेछ’, उनले भनिन्, ‘यो समस्या समाधान गर्न म पहल गर्छु ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७