एमसीसीबारे एमालेले भन्यो-सत्ता गठबन्धनको दाेहोरो चरित्र उदाङ्गियो

‘एमसीसीमा व्याख्यात्मक घोषणा : कितावको माछा पो खानु हुन्न, खोलाको त भइहाल्छ नि भन्ने जस्तै’


१७ फाल्गुन २०७८, मंगलवार
pp1646120700

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौता मुलुकको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ ।

एमालेले एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनको दोहोरो चरित्र उदाङ्गो भएको बताएको छ । एमसीसी पास भएको दुई दिनपछि मंगलबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले यसो भनेका हुन् ।

‘अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता फागुन १५ गतेको बैठकबाट अनुमोदन भएको छ । यसक्रममा निहित स्वार्थसहित सत्ता गठबन्धनबाट चालिएका चालको पटाक्षेप भएको छ’, ओलीले विज्ञप्तिमा भनेका छन्, ‘यसक्रममा अनेक भ्रम फिँजाइएको थियो । दुई पक्षीय या बहुपक्षीय लगानीमा एक पक्षीय घोषणा गरिएको छ । व्याख्यात्मक घोषणाका नाममा सत्ता सञ्चालकको छेपारे प्रवृत्ति उदाङ्गो भएको छ ।’

वक्तव्यमा भनिएको छ, ‘एमसीसी परियोजना अब संसद्बाट पास भइसकेको अवस्थामा राष्ट्रको हितमा हुने गरेर कार्यान्वयन गर्नु जरुरी छ ।’ संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिर राखेर राष्ट्रिय महत्वको विषयमा निणर्य गरिएको र यसले संसदीय अभ्यासको उपेक्षा भएको पनि एमालेको भनाइ छ ।

एमालेले एमसीसी सम्झौता पारित गर्दा संसदमा गरिएको व्याख्यात्मक घोषणाबारे प्रतिक्रिया दिएको छ । पार्टी उपमहासचिव प्रदीप पौडेलले एमसीसी सम्झौता पारित गर्न गरिएको व्याख्यात्मक घोषणालाई औचित्यहीन भएको बताए । मंगलबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘एमसीसीमा व्याख्यात्मक घोषणा : कितावको माछा पो खानु हुन्न, खोलाको त भइहाल्छ नि भन्ने जस्तै’ भएको टिप्पणी गरेका छन् ।

उनले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्दा प्रमुख प्रतिपक्षलाई बेवास्ता गरिएको बताए । ‘अनुमोदन गर्दा संसदीय प्रक्रियामा सहभागी हुन एमालेलाई वञ्चित गरियो । यो सत्ता गठबन्धनको षड्यन्त्र हो’, उनले भने । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसद् सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि आइतबार अनुमोदन भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७