एमसीसी पास गरेकै कारण अमेरिकी सेना आउँदैन : माधव नेपाल


१७ फाल्गुन २०७८, मंगलवार
Madhav Nepal

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विकास सहायता परियोजना एमसीसी संसदबाट पास गर्दैमा अमेरिकी सेना नआउने जिकिर गरेका छन् ।

एमसीसीबारे कट्टर विरोधी पार्टी समाजवादीले आइतवार यु टर्न लिँदै संसदमा पक्षमा उभिएको दुई दिनपछि पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘संसदले अनुमोदन गरिसकेपछि अमेरिका र चीनले पनि सकारात्मक भनिसकेका छन्’, उनले भने, ‘हामीले १२ बुँदे व्याख्या गरिसकेका छौं । यसलाई अमेरिकाले मानिसकेको छ ।’

नेपालले संविधानमाथि अरु कुनै कुरा हुन नसक्ने पनि बताएका छन् । ‘१२ बुँदे व्याख्याले संविधानको सर्वोच्चतालाई स्वीकार गरेको छ’, उनले भने, ‘एमसीसी अघि बढ्दैमा अमेरिकी सेना आउँदैन, नेपालको भूमि कब्जा गर्दैन । हामी अमेरिकी सैन्य रणनीतिको अंग हुन सक्दैनौं ।’

उनले ओलीमा देशभक्तिको भावना नभएको भन्दै आफू सक्षम हो भने तर्क र बहस गर्न मैदानमा आउन चुनौती दिए । अध्यक्ष नेपालले एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग गर्नुपर्ने भए ओलीले आफ्नो सर्त पूरा गर्न दबाब दिएको पनि बताए ।

‘एमसीसीमा समर्थन छ भन्ने अनि शर्त राख्ने’, उनले भने, ‘शर्त पनि सभामुखलाई अभियोग लगाउन, गठबन्धन तोड, केही प्रदेशमा मुख्यमन्त्री देऊ, केही मन्त्री देऊ, माधव नेपालको सांसदलाई कारबाही गर, पार्टी खारेज गरिदेऊ भन्ने राखेछन् ।’
आफूहरूलाई निमिट्यान्न पार्ने दुई हप्तादेखिको षड्यन्त्र एकै मिनेटमा, एकै चुट्कीमा समाप्त भएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७