कांग्रेसप्रति ओलीको कटाक्ष : कहिले छोरी बोक्या छ, कहिले बाउ बोक्या छ


१७ फाल्गुन २०७८, मंगलवार
ba

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमाले जस्ता पार्टीहरुबीच आधारभूत समझदारी हुनुपर्ने बताएका छन् ।

एमसीसीबारे धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यो सरकार देश र लोकतन्त्रका लागि दुर्भाग्य भएको भन्दै एमाले र कांग्रेस जस्ता पार्टीहरुले अनुचित राजनीति गर्न नहुने बताएका छन् ।

उनले काँग्रेसलाई हिजो कसैले लोकेन्द्रबहादुर चन्द बोक्ने, कसैले सूर्यबहादुर थापा बोक्ने त कहिले छोरी बोक्ने र कहिले बाउ बोक्ने जस्तो राजनीति नगर्न सुझाव दिए । ओलीले भने, ‘अनुचित राजनीति एमाले र कांग्रेस जस्ता पार्टीहरुले गर्नु हुँदैन भन्ने हाम्रो भनाइ हो । प्रतिस्पर्धा यस्तो हुँदैन । कहिले एउटाले लोकेन्द्रबहादुर बोक्या छ । लोकेन्द्रबहादुर बोक्या देखेपछि हाम्रा छैनन् छोरा भनेर अर्काले फेरि सूर्यबहादुरलाई डोलीमा चढाएर बोक्या छ । कहिले एउटाले छोरी बोक्या छ, एउटाले बाउ बोक्या छ । यस्तो नगरुन भन्ने हाम्रो कुरा हो ।’

कांग्रेसले अनुचित राजनीति दोहोर्‍याए एमालेले नसहने उनको भनाइ छ । ‘फेरि पनि यहि कुरा नेपाली कांग्रेसले कायम राख्छ भने एमाले बाध्य हुन्छ । यसमा संयमताको पनि त सीमा होला । अवधि होला ।’ ओलीले अवैध सरकार तत्काल विघटन हुनुपर्ने र जनादेशअनुसार अघि बढ्नुपर्ने धारणा राखे ।

‘यो सरकार बन्नै हुँदैनथ्यो । यो देश र लोकतन्त्रका लागि दुर्भाग्य हो । हामीले नेपाली कांग्रेससँगको छलफलमा हाम्रा अडानहरु कायम राख्यौं । एमाले र कांग्रेसजस्ता शक्तिहरुको आधारभूत समझदारी हुनुपर्छ भन्यौं । एउटाका रिसले अर्को, अर्काका रिसले अर्को । अनेक रिसका प्रतिस्पर्धी क्रियाकलाप हुनु हुँदैन भन्ने हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७