भीम रावलप्रति ओलीको टिप्पणी : अनुशासनहीन ढंगले हिरो बन्न खोजिरहेका छन्

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भीम रावल अनुशासनहीन ढंगले हिरो बन्न खोजेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।


अध्यक्ष ओलीले भने, ‘पार्टीको काम कारवाही भन्दा आफूलाई पृथक ढंगले प्रस्तुत गरिरहनु भएको छ । मैले अस्ती हाम्रो संसदीय दलको बैठकमा पनि भनेको थिएँ, आफूलाई व्यक्तिगत तर्फबाट हिरो देखाउन खोज्ने, कुनै पनि बहानामा चाहे राष्ट्रवाद होस् चाहे लोकतन्त्र होस् वा अरु बहानामा हाम्रो पार्टीले लिएका नीति सही छन् त्यसको बिरुद्धमा पृथक देखिएर गर्ने क्रियाकलापहरू अनुशासनभित्र पर्दैनन् । भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषदको सदस्य हो । उहाँले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहीन काम गर्दै आउनु भएको छ ।’
त्यसतर्फ पार्टीको ध्यान गएको पनि उनले बताएका छन् । नेता रावलले एमसीसीविरुद्धमा कडा विरोध गर्दै आएका छन् । संसदमा एमसीसीको विषयमा एमाले मौन बसिरहेका बेला पनि रावलले भने यसको विरोध गरेका थिए ।