तयार भयो बौद्धमार्गीको हब विमानस्थल ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’


१७ फाल्गुन २०७८, मंगलवार
gautam buddha international airport

सीबी अधिकारी
भैरहवा
: राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल केबल निर्माणका हिसाबले मात्र नभई देशकै नमूना परियोजनाका रूपमा पनि स्थापित भएको छ। रुग्ण अवस्थामा पुगेको आयोजनाको कुशल व्यवस्थापन र प्रभावकारी योजना कार्यान्वयनबाट कसरी सम्पन्न भयो भन्ने दरिलो सन्देश पनि पेस गरेको छ, भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल।

राष्ट्रिय गौरवका अन्य आयोजना समस्याग्रस्त बनिरहेका बेला गौतमबुद्ध विमानस्थको निर्माण प्रगति अन्य आयोजनाका निम्ति पनि उदाहरण बन्न पुगेको हो।

रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ।

यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न गरेको यो विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का नवनियुक्त महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए।

उनले समस्याग्रस्त अवस्थामा रहेको आयोजनाले निर्माण सम्पन्न मात्रै भई नागरिक उड्डयन इतिहासमा उदाहरणीय बनेको बताए। उनले भने, ‘रुग्ण अवस्थामा पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कसरी सफल भयो।

नेपालमा जहाज अवतरण भएको ७४ वर्षपछि नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भर्जिन रनवे’ मा जहाज अवतरण भयो। यो नेपालको एभिएसनमा अर्को उदाहरण हो। आश मारिसकेको परियोजना कसरी सफल भयो भन्ने दरिलो उदाहरण पनि बनेको छ।’

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले अवरोध भएको थियो।

पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको छ।

अब दोस्रो चरणको टर्मिनल भवन निर्माण पनि छिट्टै सुरू गरिनेछ। कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल काठमाडौं विमानस्थलकै क्षमताको हुनेछ। जहाँ सबै प्रकारका जहाज उडान अवतरण गर्न सक्नेछन्।

गौतमबुद्ध विमानस्थबाट नारायणी पश्चिम जिल्लाका नागरिकलाई बढी लाभ लिन सक्नेछन्। काठमाडौं विमानस्थलमा जुन ‘क्याटोगोरी’ का जहाज उड्छन् सोही प्रकृतिका जहाज गौतमबुद्धमा उड्ने बताउँदै महानिर्देशक अधिकारीले बुद्धको जन्मभूमिमा कनेक्सन र कनेक्टिभिटीलाई ध्यान दिएर विमानस्थल निर्माण गरिएको उल्लेख गरे।

बौद्धमार्गीको हब विमानस्थल

नेपालको पर्यटन प्रवर्द्धनका निम्ति गौतमबुद्ध विमानस्थलको निकै महत्व रहने बताइन्छ। सगरमाथा र गौतमबुद्धको देश भनेर चिनाउन पनि यो विमानस्थलको महत्वपूर्ण भूमिका हुने महानिर्देशक अधिकारीको भनाइ छ।

गौतमबुद्ध विमानस्थलमा बौद्ध मार्गीको बाहुल्यता भएका चीन, श्रीलंका, म्यानमार, कम्बोडियालगायत मुलुकबाट सिधा हवाई उडान हुने विश्वास लिइएको छ।

गौतमबुद्ध विमानस्थलमा हालकै हवाई रुटमार्फत् उडान गरिनेछ। हाल सिमराबाट ‘हवाई इन्ट्री रुट’ रहेको छ। थप रुटका लागि नेपालले भारतसँग पहल गरिरहेको छ।

प्रसिद्ध लुम्बिनी क्षेत्र नजिकै रहेकाले लुम्बिनीको प्रवर्द्धनमा पनि यो विमानस्थलले टेवा पुग्छ। विश्वभरका बौद्धमार्गी सम्बन्धित मुलुकबाट सिधै लुम्बिनी पुग्ने भएकाले पनि यो विमानस्थलको महत्व रहेको महानिर्देशक अधिकारीको भनाइ छ। कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए।

गौतमबुद्ध विमानस्थल पनि अहिलेको अवस्थामा करिब २० लाख मात्रै यात्रु धान्ने भएकाले दोस्रो टर्मिनल भवन चाँडो बनाउनुपर्ने बाध्यता रहेको प्राधिकरणको भनाइ छ।

अन्तर्राष्ट्रिय विमानस्थलका लागि चाहिने आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन भएको र भन्सार, अध्यागमनलगायत तयारी गरेर व्यावसायिक उडान सञ्चालन गरिने प्राधिकरणले जनाएको छ।

क्यालिब्रेसनको प्रारम्भिक प्रतिवेदन सकारात्मक

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको क्लालिब्रेसन फ्लाइटको प्रारम्भिक प्रतिवेदन सकारात्मक पाइएको छ। एरो थाईको विशेष जहाजले गत फागुन ६ देखि १५ गतेसम्म कूल १० दिन क्यालिब्रेसन उडान गरेको थियो।

उक्त उडानका क्रममा विमानस्थलमा जडान भएका उपकरण र बत्ती लगायतले सही ढंगले काम गरेका छन् कि छैनन् भनेर परीक्षण गरिएको थियो। उडानमा रहेको जहाजको उचाइ, दूरी, मार्ग तथा उडान र अवतरण गर्दा धावनमार्गमा जडित बत्ती ९लाइट०, सञ्चारसँग सम्बन्धित उपकरणको परीक्षण भएको विमानस्थलले जनाएको छ।

क्यालिब्रेसन फ्लाइट किन गरिन्छ ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्ग र टर्मिनल भवन निर्माण गरिसकेपछि सञ्चालनमा ल्याउँदा सुरक्षित हवाई उडानको प्रत्याभूत गराउनुपर्ने हुन्छ।

हवाई जहाजलाई कसरी सुरक्षित उडान अवतरण गराउन सक्छौं, सप्लाइ आइसिपी सिएनएस एटिएम जिरो टू ९सी–कम्युनिकेसन, एयरक्राफ्टमा भएका पाइलट र ग्राउन्डमा भएको टावरबीचको कम्युनिकेसन र नेभिगेसन (पथप्रदर्शक गर्ने) यन्त्र हो। मौसमी उपकरण पनि जडान गरिएको छ।

विमानस्थलमा अत्याधुनिक उपकरणका रूपमा आइएलएस प्रणाली जडान गरिएको छ। जसले मौसम खराबीको अवस्थामा पनि जहाजलाई सजिले अवतरण गराउन सकिन्छ। भविष्यमा यसलाई अझ विस्तृत बनाइने विमानस्थलको योजना छ।

क्यालिब्रेसन उडान विशेष प्रकृतिको जहाजबाट गरिन्छ। ग्राउन्डमा इन्जिनियरले जडान गरेका उपकरणहरूलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ० को मापदण्डअनुरूप छन् कि छैनन्।

सञ्चार प्रक्रिया ठिक ढंगले भइरहेको छ कि छैन। विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आउँदा अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुरूप छ कि छैन भनेर क्यालिब्रेसन उडान गरिएको आइसिपी टू का आयोजनाका प्रमुख इन्जिनियर प्रवीण न्यौपानेले जानकारी दिए।

उनले प्रारम्भिक प्रतिवेदन सन्तोषजनक पाइएको बताए। अन्तिम रिपोर्ट आएपछि सम्पूर्ण जानकारी प्राप्त हुनेछ।

विमानस्थलको दुई चरण आइसिपी ‘वान’ (भौतिक संरचनाः निर्माण धावनमार्ग र टर्मिनल भवन) तथा आइसिवी ‘टू’ ९सञ्चार उपकरण जडानः यान्त्रिक उपकरण) अन्तर्गतको काम सम्पन्न भएको हो।

आइसिपी टूको ठेक्का पाएको एरो थाई कम्पनीले यान्त्रिक परीक्षण उडान गरेको थियो। आइसिपी टू आयोजना प्रमुख न्यौपानेका अनुसार उडान प्रतिवेदन सकेसम्म दुई साताभित्रै उपलब्ध गराउन आग्रह गरिएको छ।

नेपाल एयरलाइन्सले परीक्षण उडान गर्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले परीक्षण उडान गर्ने जनाइएको छ।

निगमको वाइड बडी ‘ए’ ३३० जहाजले परीक्षण उडान गरिनेछ। आइकाओको सर्टिफिकेसन सकेर व्यावसायिक उडान सञ्चालन गरिने प्राधिकरणले जनाएको छ।

वैशाख १ गते ‘नयाँ वर्षमा नयाँ विमानस्थल’ थिमसहित विमानस्थलमा परीक्षण उडान हुने र जेठ २ गतेदेखि व्यावसायिक उडान गरिने प्राधिकरणका महानिर्देशक अधिकारीले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७