हामीलाई निमिट्यान्न पार्ने ओलीका षड्यन्त्र एकै चुड्कीमा समाप्त पारीदिएका छौं : माधव नेपाल


१७ फाल्गुन २०७८, मंगलवार
Madhav Nepal

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल आफ्नो पार्टीलाई निमिट्यान्न पार्न खोज्ने सबै दुई हप्तादेखिका षड्यन्त्रहरू एक मिनेटमा चुट्की बजाएर समाप्त पारेको बताएका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा आफूहरुलाई समाप्त पार्ने योजना बनाएको र त्यो सूचना आफूहरुले पाएपछि त्यसलाई विफल पारीदिएको उनको जिकिर छ ।

एमसीसी अनुमोदनसँगै उठेका आशङ्कामाथि प्रस्ट्याउन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘हामीलाई निमिट्यान्न पार्न खोज्ने सबै दुई हप्तादेखिका षड्यन्त्रहरू एक मिनेटमा चुट्की बजाएर समाप्त भएको छ । फागुन १ को षड्यन्त्र त्यस्तै थियो । फागुन १ गते पुरै हामीलाई त्यही दिन हाम्रो पार्टीको अस्तित्वलाई समाप्त पार्ने षड्यन्त्र भइसकेको थियो ।’

नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बालकोटको षड्यन्त्रअनुसार चल्न खोजेपछि महाभियोग लगाइएको खुलासा पनि गरे । फागुन १ गते पार्टीलाई नै सिध्याउने गरी षड्यन्त्र भएकाले त्यसलाई चिर्न सत्ता गठबन्धन सफल भएको बताए ।

उनले बालकोटको त्यस्तो षड्यन्त्रसम्बन्धी सूचना आफूले पाएको बताए । ‘फागुन १ मा भएको षड्यन्त्र हामीलाई थाहा छ । त्यही दिन हाम्रो पार्टी समाप्त पार्ने षड्यन्त्र भएको थियो,’ नेपालले भने । फागुन १ मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसद विरुद्ध नेकपा एमालेले दिएको मुद्धा सर्वोच्च अदालतमा पेशी चढेको थियो ।

आफ्नो पार्टी विरुद्धको षड्यन्त्र बालकोटबाटै थाहा पाएको उनको भनाई छ । उनले भने, ‘हामीलाई थाहा हुँदैन बालकोटमा के–के षड्यन्त्र भइरहेको छ ? थाहा पाइराख्नु पर्‍यो त्यहाँ । घरको वरिपरि अझै हेर्नुपर्‍यो । सूचना हामीकहाँ पठाउने पठाउने छन् कि ।’

नेपालले आफ्नो पार्टीको संसद्‍मा देखिएको उपस्थितिले एमाले र सो पार्टीका अध्यक्ष ओली आतङ्कित भएको बताएका छन् । आफ्नो पार्टीलाई नै कारण देखाएर एमालेले संसद्‍मा तमासा देखाउँदै आएको उनको भनाइ छ ।

व्याख्यात्मक घोषणापछि पक्षमा उभियौं
अध्यक्ष नेपालले एमसीसीसम्बन्धी व्याख्यात्मक घोषणापछि आफ्नो पार्टी एमसीसीको पक्षमा उभिएको बताए । संविधान र संसद्को सर्वोच्चता कायम तथा विधिको शासन स्थापित गर्न गठबन्धनमा आबद्ध दलहरू एमसीसीका सन्दर्भमा जनमानसमा देखिएका आशंका निवारण गर्ने गरी व्याख्यात्मक घोषणासहित सम्झौतालाई अनुमोदन गर्ने निर्णयमा पुगेको उनले बताए ।

‘एमसीसीका सम्बन्धमा स्पष्ट भएर अगाडि जानुपर्छ भनेर पार्टीले संस्थागत निर्णय गरेको हो । त्यसलाई प्रस्ट पार्नका लागि १२ बुँदे व्याख्यात्मक घोषणा आएपछि मात्र यसमा विश्वास गर्ने आधार बनेको हो । अहिले जनता पनि प्रस्ट भएका छन्, जनताको भावनाको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत समाजवादी हो,’ उनले भने ।

अध्यक्ष नेपालले एमसीसी सम्झौताका कतिपय शंका र दोहोरो अर्थ लाग्ने विषयका बारेमा स्पष्ट निरुपण नगरी यथास्थितिमा अनुमोदन गरिनु हुँदैन भनेर आफ्नो पार्टीले दृढ अडान लिएका कारण व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुने अवस्थामा सिर्जना भएको दाबी गरे ।

व्याख्यातमक घोषणाप्रति आलोचना गर्नेलाई उनले अन्तर्राष्ट्रिय कानुनसम्बन्धी ज्ञान नभएको भनी टिप्पणी गरे । नेपालका छिमेकी तथा मित्र राष्ट्रसँगको सहकार्य गर्दै मुलुकलाई समृद्ध बनाइने उनको भनाइ छ । ‘सबै मित्र राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध राख्न चाहन्छौँ, उनीहरूको सहयोग लिएर मुलुकको विकास गर्न चाहन्छौँ,’ उनले भने ।

सभामुखको पक्षमा दृढतापूर्वक उभिन्छौँ

अध्यक्ष नेपालले सभामुख अग्निप्रसाद सापकोटाले घुँडा टेक्ने कुरै नभएको बताएका छन् । उनले सभामुखको पक्षमा एकीकृत समाजवादी पार्टी दृढतापूर्वक उभिने बताए । ‘सभामुखले खुरुक्क राजीनामा दिने ? यो कुरा केपी ओलीले नचिताए हुन्छ,’ उनले भने, ‘हामी सभामुखको पक्षमा दृढतापूर्वक उभिन्छौँ ।’

सभामुखले संसद् र सांसदहरूको अधिकारको रक्षा गरिरहेको उनको टिप्पणी थियो । सभामुखमाथि अनुचित आरोप नलगाउन पनि उनले एमालेलाई चेतावनी दिए । ‘सभामुखप्रति अपमानजनक व्यवहार गर्ने, सभामुखको गरिमाको रक्षा गर्नुपर्दैन ?’ प्रश्न गर्दै अध्यक्ष नेपालले भने, ‘एमालेको यो प्रवृत्ति गलत छ ।’

चीनको चासो स्वाभाविक

अध्यक्ष नेपालले नेपालको भूमिबाट चीनलाई कुनै खतरा हुन्छ भनेर चासो व्यक्त गर्नु स्वाभाविक भएको बताए ।

‘नेपालको भूमिबाट चीन र भारतले आफूहरूविरोधि गतिविधि हुन्छ कि भनेर चासो राख्नुलाई हामी अस्वाभाविक मान्दैनौँ, नेपाल असंलग्न परराष्ट्र नीति अँगाल्ने देश हो भनेर हामी भन्न चाहन्छौँ,’ उनले भने, ‘नेपालको भूमि शान्ति भूमि हो, अशान्त हुन सक्दैन, नेपाल कुनै पनि गतिविधिमा संलग्न हुँदैन । नेपालबाट छिमेकी ढुक्क भए हुन्छ । हामी त्यस्तो हुन दिँदैनौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७