विप्‍लवलाई नारायणकाजीले भने, ‘राष्ट्रियताको विषयमा मेरो कम्प्रोमाइज हुँदैन, अब माओवादीमा बस्न गाह्रो छ’


१८ फाल्गुन २०७८, बुधबार
narayan kaji shrestha and Netra Bikram

काठमाडौं : नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियताको विषयमा आफ्नो कसैसँग कम्प्रोमाइज नहुने बताएका छन् । सहकार्यको प्रस्ताव लिएर श्रेष्ठलाई भेट्न पुगेका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई नेता श्रेष्ठले राष्ट्रियता आफ्नो प्रमुख भएको उल्लेख गर्दै पछिल्लो घटनाक्रमले अब माओवादीमा बस्न गाह्रो हुने बताएका हुन् ।

श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तीवन पुगेका थिए । विप्लव निकट एक नेताका अनुसार एमसीसीमा प्रचण्‍डले धोका दिएको श्रेष्ठले बताएका थिए । ‘असहमतिबीच अब माओवादीमा बस्न गाह्रो छ’ विप्लवलाई उधृत गर्दै उनी निकट एक नेताले भने ।

महासचिव विप्लवले राष्ट्रियताका पक्षहरुवीच मोर्चा बनाउन आग्रह गरेका थिए । एमसीसी अनुमोदनपछि विपक्षमा उभिएका पार्टीका वरिष्ठ नेता श्रेष्ठ अध्यक्ष प्रचण्डसँग रुष्ट छन् । अध्यक्ष प्रचण्ड मंगलबार हात्तीवनस्थित श्रेष्ठ निवासमा पुगेका थिए ।

एमसीसी पास गर्न नहुने पक्षमा रहेका श्रेष्ठबारेमा प्रचण्डले खुमलटारमै सोमबार आयोजित पत्रकार सम्मेलनमा छाडेर जानेलाई रोक्न नसकिने बताएका थिए।

सोमबार प्रचण्डको अभिव्यक्तिलाई लिएर आक्रोशित नारायणकाजीले आफूले पार्टी छाडेर जान नखोजेको जवाफ दिएका थिए। ‘मैले पार्टीबाट हट्ने, पार्टी छाड्ने कुरा गरेको होइन। तर तपाईंले नै छाडेर जा भन्नु भयो’, उनले प्रचण्डलाई भने, ‘तपाईंले नै वामदेव जसरी पार्टी छाडेर जानेलाई रोक्न नसकिने भनेपछि सोच्नुपर्ने अवस्था आयो।’

तर फेरि प्रचण्डले नारायणकाजीलाई फकाउँदै आफूले त्यसो नभनेको जवाफ दिएका थिए। ‘होइन, मैले त्यस्तो केही भनेको होइन। अलग सन्दर्भलाई लिएर भनेको कुरा पार्टीको धारणा होइन’, प्रचण्डले भने, ‘अहिले हामी सबैले यताउता सोच्नु भन्दा पार्टी एकता जोगाएर हाम्रा मतभेदहरूबारे बैठकमा छलफल गरौँ, मन माझामाझ गरौँ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७