एमसीसी अनुमोदनपछि देउवासँग प्रचण्ड र माधव नेपालको छुट्टाछुट्टै भेटवार्ता


१८ फाल्गुन २०७८, बुधबार
deuba prachanda madhav

काठमाडौें । प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । प्रचण्ड र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

‘सामान्य भेटघाट हो, गठबन्धन दलहरूबीच सहमतिबाट एमसीसी अनुमोदन भइहाल्यो, समसामयिक विषयमा सामान्य छलफल हो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘पहिले नेपाल र पछि दाहालले छुट्टाछुट्टै भेट्नु भएको हो ।’

अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएपछि प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । उनीहरूबीच स्थानीय तह निर्वाचनमा गठबन्धन कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ। एमसीसी पारित भएपछिको अवस्थाको समेत नेताहरूले समीक्षा गरेका छन्।

गठबन्धनमा चर्को विवाद र बहसका बीच गठबन्धन सरकार जोगाउनुपर्ने भन्दै प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित आइतबार एमसीसी सम्झौता अनुमोदन भएको थियो । सत्ता गठबन्धन दलहरु अब स्थानीय तहको निर्वाचनको तयारीमा जुटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७