पोखराका दुई स्थानमा भेटियो बर्डफ्लु


१८ फाल्गुन २०७८, बुधबार
birdflu
540837728

पोखरा । पोखराका दुई स्थानमा बर्डफ्लु पुष्टि भएको छ । वडा नम्बर १५ र १७ मा स्थानीय व्यक्तिले घरमा पालेका कुखुरा र हाँसमा बर्डफ्लु पुष्टि भएको बर्डफ्लु नियन्त्रण केन्द्रका जनसम्पर्क तथा सञ्चार अधिकृत डा. गृष्म न्यौपानेले जानकारी दिए ।

भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता समेत रहेका वरिष्ठ पशु विकास अधिकृत डा. न्यौपानेका अनुसार पोखरा-१५ का खुसीमान गुरुङको घरमा पालिएका र पोखरा-१७ का खेमबहादुर क्षेत्रीको घरमा पालिएका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो ।

उक्त क्षेत्रमा दैनिक कुखुरा मर्न थालेपछि ६ फागुनमा गुरुङले परीक्षणका लागि ल्याएको कुखुरा आरडिटी परीक्षणमा पजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा १५ फागुनमा बर्डफ्लु पुष्टि भएको हो । उनीसँगै क्षेत्रीको कुखुरा पनि परीक्षणका लागि पठाइएको थियो । उनको कुखुरामा समेत बर्डफ्लु पुष्टि भएको छ ।

कुखुरा र हाँस पालेको ठूलो फर्ममा नभई किसानले आवासीय क्षेत्रमा घरमै पालेको कुखुरामा संक्रमण पुष्टि भएको र सतर्कता अपनाइएकाले ठूलो क्षेत्रको पक्षी र पक्षीजन्य पदार्थ नष्ट गर्नु नपर्ने बर्डफ्लु नियन्त्रण केन्द्रका जनसम्पर्क तथा सञ्चार अधिकृत डा. न्यौपानेले जानकारी दिए ।

‘रेसिडेन्टल एरियामा किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु देखिएको हो । त्यसलाई नियन्त्रण गर्न हामीले चारकिल्ला निर्धारण गरेर अब नष्ट गर्ने कामलाई अगाडि बढाउँदै छौँ, त्यसैले यसलाई नियन्त्रणमा लिन समयमै सतर्कता अपनाइएकाले समस्या नपर्ला,’ उनले भने ।

उनका अनुसार वडा नम्बर १७ को उत्तरतर्फ हिमाल डेरीतर्फको सडक, पूर्वतर्फ त्यसको कम्पाउन्ड र वाल, दक्षिणतर्फ पिसिजी गरिएको बाटो र पश्चिमतर्फ हाम्रो मल्टिप्रपोज कृषि फर्मको बाउन्ड्रीको चार किल्ला क्षेत्रभित्रका किसानले पालेका पक्षी (हाँस, कुखुरा, परेवा) र पक्षीजन्य पदार्थ (मासु, अन्डा, दाना र सुलीलगायत) नष्ट गरिनेछ ।

यसैगरी, वडा नम्बर १५ को अलकापुरी टोलबाट उत्तरतर्फ ऋषि मार्ग, पूर्वतर्फ सिर्जना मार्ग, दक्षिणतर्फ ताङवे समाज जाने बाटो र पश्चिमतर्फ सेती नदीसम्मको क्षेत्रलाई चारकिल्ला निर्धाण गरेर किसानले पालेका पक्षी (हाँस, कुखुरा, परेवा) र पक्षी जन्य पदार्थ (मासु, अन्डा, दाना र सुलीलगायत) नष्ट गरिनेछ । डा. न्यौपानेले उक्त क्षेत्रमा बुधबारदेखि २७ फागुनसम्म पक्षी र पक्षीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७