एमाले अध्यक्ष ओलीलाई सभामुखको चुनौती : एमसीसीबारे मैले बोलेको कुरा पुष्टि गरियोस्


१८ फाल्गुन २०७८, बुधबार
kp oli agni

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहायता सम्झौता एमसीसी पास गर्नुपरेमा आफूले आत्महत्या समेत गर्ने भनेर बोलेको कुरा पुष्टि गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती दिएका छन् ।

सभामुख सापकोटाको नाम जोडेर भ्रम सिर्जना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै सभामुखको सचिवालयले त्यसको खण्डन गरेको हो । सभामुख सापकोटाको सचिवालयले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा सभामुखले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाएको र त्यसलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाइएको छ ।

मंगलबार प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संसद्बाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता तथा समसामयिक विषयमा जारी गरेको वक्तव्यमा सभामुख सापकोटामाथि आरोप लगाइएको थियो । वक्तव्यको बुँदा नम्बर-३ मा ‘सभामुख सापकोटाले एमसीसी सम्झौता पारित भए आत्महत्या गर्ने अभिव्यक्ति दिएको’ उल्लेख छ ।

‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिनुभएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ । नेपालको संविधान, प्रतिनिधिसभा नियमावली र कानुनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनुभएका सम्माननीय सभामुखविरुद्ध कपोलकल्पित एवं भ्रमपूणर् विषयको उठान र दुस्प्रचार खेदजनक छ ।’

यस्तै, सचिवालयले सभामुख सापकोटाले सो अभिव्यक्ति दिएको भए पुष्टि गर्न चुनौती पनि दिएको छ । ‘उहाँले बोलेको भनी प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं । आफ्नो राजनैतिक अभिष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।’

आफ्नो वक्तव्यमा एमालेले सभामुखको व्यवहार पदीय कर्तव्यको पालनाभन्दा पनि दल विशेषको आज्ञापालन जस्तो देखिएको उल्लेख गरेको छ । ‘संसद्मा माननीय सदस्यहरूको अवरोधलाई अनदेखा गर्दै बलमिच्याइँ गर्ने सभामुखको व्यवहार आपत्तिजनक छ । सरकारले दिएको बिजनेस सदनमा प्रस्तुत नगर्ने जस्ता पदीय दायित्व प्रतिकूल व्यवहार गर्दै आउनु भएका सभामुखले कुनै समय एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्ने जस्ता आवेगपूर्ण अभिव्यक्ति दिनुभयो । षड्यन्त्रको पटकथा तयार भएपछि भने सभामुख भनेको अम्पायर हो भन्नेजस्ता शब्दावली प्रयोगमा ओर्लिनुभयो । यसले उहाँको यो व्यवहार पदीय कर्तव्यको पालना भन्दा पनि दल विशेषको आज्ञापालन गर्ने देखिन्छ । उहाँ नै दलहरूले कारबाही गरेका अनुशासनहीन सांसदलाई जोगाएर दल विभाजनको मतियार बन्नुभयो ।’

वक्तव्यमा लेखिएको छ, ‘अहिले राष्ट्रिय राजनीति लिकबाट बाहिरिएको छ । संसद्भित्र वा बाहिरको हाम्रो जारी लडाइँ लोकतन्त्रको आधारभूत मूल्य, मान्यता र दलीय प्रणालीको मर्मलाई स्थापित गर्न र त्यसलाई अझ सुदृढ गर्नका लागि हो । संसद् जननिर्वाचित प्रतिनिधिमार्फत लोकतन्त्रको अभ्यास गरिने थलो हो । चार वर्षअघिको जनादेश अहिले खण्डित भएको छ । त्यसैले संसद् प्रभावकारी हुन सकिरहेको छैन । त्यसमाथि सभामुखको भूमिकाले थप गतिरोध सिर्जना भएको छ । यी सबै घटनाक्रमले सभामख यस गरिमामय पदका लागि योग्य हुनु हुन्न भन्ने थप पुष्टि भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७