रुस-युक्रेन युद्ध : भारतले किभबाट उद्धार गर्‍यो आफ्ना १,३७७ नागरिकलाई

१६ हजार विद्यार्थी अझै अलपत्र


१८ फाल्गुन २०७८, बुधबार
ukrine2022 03 02 06 15 42

किएभ । युद्धग्रस्त युक्रेनबाट भारतले पछिल्लो २४ घण्टामा आफ्ना १,३७७ नागरिकहरुको उद्दार गरेको छ । विदेशमन्त्री एस जयशंकरले बुधबार सो जानकारी दिएका हुन् ।

‘पोल्याण्डबाट पहिलो उडानसहित पछिल्लो २४ घण्टामा भारतका लागि ६ उडानहरू प्रस्थान गरेका छन् । युक्रेनबाट थप १,३७७ भारतीय नागरिकलाई फिर्ता ल्याइएको छ,’ जयशंकरले एउटा ट्विटमा भनेका छन् । युक्रेनमा रहेका नागरिकहरूलाई बाहिर निकाल्न शुरु गरिएको अपरेशन गंगाअन्तर्गत भारतले आगामी तीन दिनमा २६ वटाभन्दा बढी उडानहरू सञ्चालन गर्नेछ । युक्रेनको हवाई क्षेत्र बन्द भएपछि रोमानिया, हंगेरी, पोल्याण्ड र स्लोभाक गणतन्त्रका विमानस्थलहरु भारतीयहरुलाई उडान भर्न प्रयोग भइरहेका छन् ।

विदेश सचिव हर्षवर्धन श्रृङ्लाले युक्रेनको राजधानी किभमा कुनै पनि भारतीय बाँकी नरहेको बताएका छन् । रुसले धेरै शहरहरूमा सर्वसाधारणको बसोबास गर्ने क्षेत्रहरूमा आक्रमण सुरु गरेको छ । राजधानी किभका बासिन्दाहरूलाई आफ्ना घर छोड्न आग्रह गरेको छ ।

रुसी सेनाका बख्तरबन्दका ठूला लाम राजधानी किभतर्फ बढेसँगै राजधानी किभ छोड्ने मानिसहरुको संख्या बढेको छ । अमेरिकास्थित स्पेस टेक्नोलोजी कम्पनीले सार्वजनिक गरेका तस्विरहरूमा सयौं ट्यांक, तोप, बख्तरबन्द, र सैन्य हतियार बोकेका सेनाका गाडी राजधानीतर्फ बढिरहेका देखिन्छन् ।
१६ हजार विद्यार्थी अझै अलपत्र
करिव १६ हजार भारतीय विद्यार्थी अझै पनि युक्रेनमा बिचल्लीमा छन् । रुसी फौजले युक्रेनमाथि हमला शुरु गरेपछि अलपत्र परेका विद्यार्थीले सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यमहरुबाट सहयोगको याचना गरिरहेका बताइन्छ ।
सोमबार रुसी सेनाले गरेको गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको थियो । मंगलबार मात्र सरकारले सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छोड्न अनुरोध गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७