शेयर बजारका समस्या समाधान गर्न धितोपत्र बोर्ड र नेप्से प्रमुखलाई अर्थमन्त्रीको निर्देशन


१८ फाल्गुन २०७८, बुधबार
nnnnnnn1646218056

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नव नियुक्त प्रमुखलाई बोलाई पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन् ।

बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र धितोपत्र बोर्डका नव नियुक्त प्रमुखलाई बोलाए पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका हुन् । पुँजीबजार सम्बन्धि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्नको लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताए । उनले पछिल्लो समय शेयर बजारमा देखिएका समस्या समाधानको लागि पुँजीबजार नियमनकारी निकायका नेतृत्वको काम कारबाहीले देखिने दावी गरे ।

कार्यक्रमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताएका छन् । उनले पुँजीबजार सुधारको लागि केही कानुनमा सुधार गर्नुपर्ने बताए । अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नु पर्ने देखिएकाले बोर्ड लागि परेको जानकारी दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पुँजी बजार सम्बन्धि ऐन समय सापेक्ष नभएको बताएका छन् । उनले पुँजीबजार सुधारको लागि अहिले भएका नीतिगत व्यवस्थाहरुलाई संशोधन गर्नु पर्ने आवश्यक रहेको बताए । कार्कीले शेयर बजारलाई प्रभावकारी बनाउनको लागि प्राविधिको अध्ययन गर्नुपर्ने जानकारी दिए ।

त्यस्तै अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुस्करले पुँजीबजार आन्तरिक मात्र नभएर अन्तराष्ट्रिय बजारमा प्रभावकारी देखाउनु पर्ने बताए । उनले अर्थ मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको काम गर्ने प्रणालीलाई अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग सहकार्य गर्ने काम अगाडि बढाएको जानकारी दिए ।

कार्यक्रममा पुँजीबजारलाई नियमनकारी निकायका दुबै प्रमुखले विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्नू पर्ने जोड दिएका छन् । अर्थमन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिइओलाई मोबाइल एपबाटै शेयर कारोबार हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन् भने पुँजीबजार नबुझिकन कारोबार गर्नेलाई शिक्षित गराउनु पर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७