एमसीसीले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा ठूलो क्षति गर्‍यो : डा. भट्टराई

‘युक्रेनमाथि रुसको आक्रमण अनुचित’


१८ फाल्गुन २०७८, बुधबार
Rajan Bhatarai

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विदेश विभाग प्रमुख डा. राजन भट्टराईले एमसीसीको विषयमा नेपालका नेताहरुले अपरिपक्व व्यवहार देखाएको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमसीसीका कारणले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा पुगेको क्षति नियन्त्रण गर्न निकै समय लाग्ने बताए ।

उनले भने, ‘एमसीसीबारे राजनीति धेरै गिजोलियो, एमसीसी पारित भएपछि हाम्रो पार्टीको धारणा आइसकेको छ । हामी सरकारमा हुँदा अघिल्लो सरकारले गरेको सम्झौतालाई निरन्तरता दिन अघि बढाएका थियौं, तर त्यतिबेला पनि यसलाई गिजोल्ने काम भयो । वैदेशिक सम्बन्धको विषयमा यो तहको विवाद भएको नेपालमा पहिलो पटक हो ।’ नेता भट्टराईले एमसीसीको विरोध गर्दागर्दै समर्थन गरेको भन्दै आश्चर्य प्रकट गरेका छन् ।

डा. राजन भट्टराईले रसियाले युक्रेनमाथि गरेको आक्रमण अनुचित रहेको बताएका छन् । उनले जुनसुकै कारणले भए पनि रुसले युक्रेनमाथि आक्रमण गर्नु अनुचित भएको बताएका हुन् ।

‘२१औं शताब्दीमा यो आक्रमण र सैन्य हस्तक्षेप मान्न पनि सक्दैनौं । हामी अहस्तक्षेपको सिद्धान्तमा छौं । विश्व शान्तिपूणर् माध्यमबाट नै सबै समस्याको समाधान हुनुपर्छ । अहिले माइट इज राईटको समय होइन । शक्तिको बलमा जाने कुराको हामी विपक्षमा छौं, उनले भने, ‘हामी शान्तिपूणर् पक्षमा छौं । यो युद्ध छिटो अन्त्य होस् । नेपालीहरुको उद्धार होस् ।’
उनले आफ्ना नागरिकको उद्दार गर्न सरकार उदासीन रहेको बताए । नेता भट्टराईले सरकारी तवरबाट यथाशीघ्र नेपाली नागरिकको उद्दारको पहल हुनुपर्ने जोड दिए ।

कुटनीतिज्ञ तथा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नेपालका सबै वामपन्थीहरु मिलेर काँग्रेसलाई पराजित गर्नुपर्ने बताएका छन् । राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु नहुने भन्दै उनले वामपन्थीहरु मिलेर अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनको पार्टीलाई हराउनु पर्ने बताए ।

उनले भने, ‘एमसीसी फेल गर्नु पर्दथ्यो । राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैन । सबै वाम मिलेर देउवालाई हराउनु पर्छ ।’ राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले एमसीसी पनि महाकाली जस्तै कहिल्यै कार्यान्वयन नहुने दाबी गरे । उनले एमसीसीमा भारतको पनि सहमति आवश्यक रहेको उल्लेख गर्दै भोलि भारतले स्वीकृति नदिए के हुन्छ भन्ने प्रश्न गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७