पाँच महिनादेखि अवरुद्ध संवैधानिक इजलास शुक्रबारदेखि


१८ फाल्गुन २०७८, बुधबार
supreme court Nepal

काठमाडौं : पाँच महिनादेखि अवरुद्ध संवैधानिक इजलास शुक्रबारदेखि बस्ने भएको छ । आगामी शुक्रबार संवैधानिक इजलास बस्ने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

पछिल्लोपटक संवैधानिक इजलास असोज १३ मा बसेको थियो । त्यस लगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन सुरु भएपछि सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्न सकेको छैन।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लागेका हुन्। यसअघि जबरासँग एउटै इजलासमा नबस्ने न्यायाधीशहरुको अडानका कारण संवैधानिक इजलास बस्न सकेको थिएन।

संविधानले संघीय ईकाइहरूबीचको विवाद, प्रदेशसभा र संघीय संसद्का सांसद्हरूको अयोग्यतासम्बन्धी र निर्वाचनसम्बन्धी विवाद तथा तीनै तहका व्यवस्थापिकाले बनाएका कानुन संविधानसँग बाझिएका विवाद हेर्ने अधिकार यो इजलासलाई छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य चार जना न्यायाधीश रहने व्यवस्था संविधानमा छ ।

हाल सर्वोच्च अदालतका न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको नाम न्याय परिषद्ले संवैधानिक इजलासका लागि सिफारिस गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७