नारायणकाजीले भेटे प्रचण्ड, फुट्नै लागेको हो माओवादी केन्द्र ?


१९ फाल्गुन २०७८, बिहीबार
prachanda and narayankaji

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच आज (बिहीबार) बिहान भेटवार्ता भएको छ ।

संसदबाट एमसीसी अनुमोदनमा आफ्नो पार्टी माओवादी केन्द्र पनि सहभागी भएपछि नारायणकाजी श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट बनेका छन् । यस क्रममा उनले पूर्व एकता केन्द्र पक्षधर समेटेर माओवादी केन्द्र नै छाड्ने तयारी गरेपछि प्रचण्ड रोक्ने प्रयासमा जारी राखेका छन् । बुधबार दिनभर पूर्व एकता केन्द्र र जनमोर्चा निकट नेताहरूबीच छलफल भएको थियो । पार्टी विभाजन हुन नदिन माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अनन्तले पनि श्रेष्ठसँग भेटवार्ता गरेका थिए ।

त्यस लगत्तै आज बिहीबार बिहान श्रेष्ठले अध्यक्ष प्रचण्डलाई खुमलटारस्थित उनकै निवास पुगेर भेटेका हुन् । एक नेताका अनुसार पूर्व एकता केन्द्र पक्षधर नेताहरू शुक्रबार शुरु हुने माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा सहभागी हुने/नहुने निणर्य गर्न आज पनि दिनभर छलफलमा जुट्ने भएका छन् । अध्यक्ष दाहालले बामदेवको हालतबारे ध्यानकर्षण गराएको विषयलाई श्रेष्ठले भने ‘पार्टी छोड’ भनेको अर्थमा लिएका छन् ।

अहिले प्रचण्ड र श्रेष्ठको संवाद टुटेको छैन । तर, श्रेष्ठले अध्यक्ष प्रचण्डले नै सार्वजनिक रुपमा पार्टी छोड भनेका कारण जटिलता आएको बताएका छन् । ‘हामीले पार्टी छाड्ने कुरा त गरेका थिएनौं । तपाईंले सार्वजनिक रुपमै पार्टी छोड भनेका कारण अप्ठ्यारो पर्‍यो’, श्रेष्ठले दाहालसँगका भेटबारे भने, ‘सोच्न बाध्य बनायो । तर, निणर्य गरेका छैनौं ।’ श्रेष्ठको यो भनाईले माओवादी फेरि फूट नजिक पुगेको संकेत गरेको छ । यही बेलामा श्रेष्ठले नेकपा माओवादीका नेता विप्लवसँग गरेको भेटवार्ताले यसलाई थप सशंकित बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७