गोरखाका १२४ विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति


१९ फाल्गुन २०७८, बिहीबार
student

गोरखा । कार्यालय सञ्चालन खर्च शून्य रहेको गोरखा जिल्ला स्वास्थ्य तथा शैक्षिक विकास स्किम (गडहेड्स) नामक एक सामाजिक संस्थाले १२४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । जिल्लाभरका १४ विद्यालयका १२४ जना विद्यार्थीलाई नगद तथा शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको संस्थाका अध्यक्ष लक्ष्मण आचार्यले जानकारी दिए ।

प्रत्येक विद्यार्थीलाई चार हजार रुपैयाँ बराबरको विद्यालय पोशाक, जुत्ता, झोला, कलम, कापी, जोमेट्रीबक्स, क्याल्कुलेटर प्रदान गरिएको अध्यक्ष आचार्यले बताए । सदरमुकामको शक्ति माविका १० जना, महेन्द्रज्योति माविका २४ जना, बालमन्दिर माविका १५जना, नव ज्योति माविका पाँचजना, रत्नलक्ष्मी माविका पाँचजना र गोरखकाली आधारभूत विद्यालयका ५ जनालाई चार हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको संस्थाकी सचिव सरिता अर्यालले जानकारी दिइन् ।

बुधबार बिहान बालमन्दिर माविमा आयोजित एक कार्यक्रमका बीच शैक्षिक सामग्री र पोशाक वितरण गरिएको हो । हिमालय मावि बारपाकका पाँचजनालाई पनि सोही परिमाणको शैक्षिक सामग्री प्रदान गरिएको छ । द्रव्य शाह क्याम्पसका पाँच जनालाई जनही १२ हजार रुपैयाँका दरले र महेन्द्रज्योति माविका चार जनालाई भने सातहजार रुपैयाँका दरले नगद छात्रवृत्ति प्रदान गरिएको उनले बताइन् ।

सदरमुकामकै मनकामना बहिरा माविका छ जनालाई सोही परियोजनाअन्तर्गतको छात्रवृत्ति वितरण गर्ने कार्यक्रम रहेको छ भने सूर्यज्योति मावि ताकुकोटका पाँचजना, ज्ञानज्योति मावि लप्सीबोटका १० जना, संसरी महेन्द्र मावि गाँखुका १० जना, शान्ति मावि बगुवाको पाँच जना र दुल्लभ मावि घ्याम्पेशालका पाँचजनालाई पनि छात्रवृत्ति वितरण गर्ने कार्यक्रम रहेको अर्यालले बताइन् ।

संस्थाका अध्यक्ष लक्ष्मणबाबु आचार्यको अध्यक्षतामा सम्पन्न छात्रवृत्ति वितरण कार्यक्रममा सो संस्थाका पूर्व अध्यक्ष पुरुषोत्तम अर्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बर्सेनि ठूलो परिमाणमा शैक्षिक तथा सरसफाइसम्बन्धी कार्यक्रम गर्दै आएको सो संस्थाले कार्यालय सञ्चालन तथा कर्मचारी शीर्षकमा शून्य प्रतिशत खर्च गर्ने गरेको अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७